सभामुखमा सुवास नेम्वाङ र शिवमायाको चर्चा

डिसी नेपाल
२३ मंसिर २०७६ १३:००

काठमाडौं। तत्कालीन कृष्णबहादुर महराले बलात्कारको आरोपमा राजीनमा दिएपछि रिक्त रहेको सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बसिरहेको छ।

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेका थिए।
तर उपसभामुख तुम्बाहाम्फेले सभामुखले गरेको गल्तीको सजाय आफूले नभोग्ने भन्दै राजीनामा नदिने बताउँदै आएकी छन्।

यदि उपसभामुखले राजीनामा दिन अस्वीकार गरे वर्तमान उपसभामुखलाई नै सभामुख बनाउने विषयमा नेकपा शिर्ष नेताबीच छलफल भएको स्रोतले जनाएको छ।

संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ। अहिले उपसभामुख नेकपाबाट छिन्। उपसभामुखले राजीनामा नदिए नेकपाले सभामुख पद पाउँदैन। नेकपाले सभामुख आफूसँगै राख्न चाहेको छ। त्यसका लागि वर्तमान उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ।

यसअघि सभामुख पूर्व माओवादीबाट बनेका कारण अब बन्ने सभामुख पनि पूर्व माओवादीबाटै हुनुपर्ने पूर्वमाओवादी पक्षको अडान रहेपछि प्रधानमन्त्री केपी ओलीले भने पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन्। नेम्वाङको नाममा प्रचण्डको पनि सहमति छ। तर उनीमाथि पूर्व माओवादी पक्षबाटै सभामुख बनाउनुपर्ने दवाब छ।

यद्यपी प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाइसकेपछि ओलीले नेम्वाङलाई सभामुख बनाउँदा पूर्वमाओवादी पक्षले धेरै विरोध नगर्ने पूर्व एमालेका एक नेताले बताए।

तर प्रचण्ड एक्लैले यो विषयमा निर्णय गर्न सक्ने अवस्था देखिँदैन। प्रधानमन्त्री ओली आफूलाई सहयोग गर्न सक्ने र आफू निकटलाई सभामुख बनाउन चाहँछन्।

सभामुख चयनका लागि सरकारले संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। सरकारले संसद् अधिवेशन बोलाउन आवश्यक ठानेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपतिले संसद् बोलाउने संवैधानिक व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *