पाटा नेपाल र चिनियाँ पर्यटन संस्था कोट्रीबीच सम्झौता

डिसी नेपाल
२३ मंसिर २०७६ १६:२०

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को दौरानमा छिमेकी मुलुक चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न अन्तरदेशीय पर्यटन प्रवद्र्धन साझेदारिता अघि बढाइने भएको छ ।
उक्त प्रयोजनका निम्ति प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र चाइना आउट बाउण्ड टुरिज्म रिसर्च इन्टिच्युट (कोट्री) बीच पर्यटन सहकार्यसम्बन्धी सम्झौता भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।

सम्झौता अनुरूप चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउन आवश्यक बजारीकरण तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु, अनुसन्धानमार्फत आवश्यक ज्ञान तथा तथ्य सम्प्रेषण र वितरणलगायत मानव संसाधन विकाससम्बन्धी तालिम तथा कार्यशाला आयोजना गरिने जनाइएको छ ।

कोट्रीसँग रणनीतिक साझेदारको रूपमा सहकार्य गर्ने सहमति भएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले बताए । उनका अनुसार यही मङ्सिर २० गते भारतको नयाँदिल्लीमा पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिजम पावर हाउस’ कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका प्रमुख कार्यकारी (सिइओ) प्रोफेसर डा वल्फ ग्याङ्गले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा पाटा नेपालका महासचिव विभूतिचन्द ठाकुर, सिइओ बुडाल र भ्रमण वर्ष २०२० का प्रबन्धक रोहिणी खनाल तथा कोट्रीका तर्फबाट हेडअफ सेल्स नवीनकुमार लगाएतको उपस्थीति रहेको थियो । कोट्री चाइनाको आउट बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदान गर्ने विश्वकै अग्रणी एवं प्रख्यात अनुसन्धान संस्था हो ।

पाटा नेपालद्वारा कोट्रीसँगको दीर्घकालीन सहकार्य गर्ने सम्झौता नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार (चीन) मा रहेको बृहत् अवसर र सम्भाव्यतालाई उजागर गर्न एक महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव ठकुरीले जानकारी दिए । उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने नाईस (नेपाल इण्डिया चाइना एक्सपो) देखि शुरुआत भई निरन्तर अगाडि बढ्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *