नेपाली महिला खेलाडीद्वय थापा र लिम्बूद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

डिसी नेपाल
२३ मंसिर २०७६ १७:२०

काठमाडौं । १३औं सागमा भारतसँगको खेलमा पराजित भएपछि नेपाली टोलीका खेलाडीद्वय निरु थापा र मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनिहरुले भारतसँगको खेलपछि लगतै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले दुवै जनालाई आधा तोला सुन प्रदान गरेर सम्मान गर्ने घोषणा गरे ।

१३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गतको पोखरामा सम्पन्न महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको थियो । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सोमबार सम्पन्न फुटबलको फाइनलमा आयोजक नेपाललाई २–० गोलअन्तरले पराजित गरी डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गरेको हो ।

नेपाललाई पराजित गर्ने क्रममा भारतका एनजी बालादेवीले खेलको पहिलो हाफको १८औँ तथा दोस्रो हापको ५५औँ मिनेटमा एक÷एक गोल गरिन् । लिग चरणको खेलमा समेत नेपाललाई भारतले उनकै गोलको मद्दतले १–० अन्तरले पराजित गरेको थियो । महिला फुटबलमा अन्तर्राष्ट्रिय उपाधिबाट बिमुख हुँदै आएको नेपाल घरेलु मैदानमा स्वर्ण जित्ने ऐतिहासिक अवसरको सदुपयोग गर्न नसकेपछि रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो ।

अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपाली खेलाडीले केही गोलका मौका पाए पनि सदुपयोग गर्न सकेनन् । रङ्गशालामा उपस्थित दर्शकले खेलको शूरुआतदेखि अन्तिमसम्म निरन्तर नेपाली टोलीको समर्थनमा नारा लगाउँदै हौसला प्रदान गरेपनि टोलीले गोलको खाता खोल्न सकेन । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । खेल लगत्तै उनले टोलीको हारको सम्पूर्ण जिम्मेवारी आफ्नो भएको बताउँदै राजीनामा दिने बताएका हुन्।

भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले उपाधि रक्षा गरेर स्वर्ण जित्न पाउँदा खुशी भएको बताउँदै नेपालले पछिल्ला वर्षमा राम्रो फुटबल खेल पस्कदै गोल अन्तरलाई कम गर्दैै लगेको प्रतिक्रिया दिए । विजेता खेलाडीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले ट्रफी तथा मेडल प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *