१० वटा फाँसी दिने डोरी धमाधम तयार गरिँदै, कस–कसलाई झुण्ड्याउने तयारी हुँदैछ ?

डिसी नेपाल
२४ मंसिर २०७६ ९:३०

बक्सर। भारतको बक्रस्थित केन्द्रीय कारागारमा फाँसीका १० फन्दा तयार गरिँदैछ । सेन्ट्रल जेल अधिक्षक विजय कुमार अरोडाका अनुसार जेल निर्देशनालयलाई यसै हप्ताभित्र १० डोरी तयार गर्न निर्देशन दिइएको छ । जेलको निर्माणशालामा ६ जना कैदी फाँसी दिने यो खास किसिमको ‘ह्यांगिङ रोप’ तयार गरिरहेका छन् । पूरै भारतमा जहाँ पनि अदालतले फाँसीको आदेश दिन्छ त्यतिबेला यही जेलकै कैदीले फाँसीको फन्दा तयार गर्छन् ।

पूरै भारतमा बक्सर जेल एकमात्र ठाउँ हो जहाँ फाँसीको फन्दा तयार गरिन्छ । भारतको कानुनअनुसार यो जेलबाहेक अन्यत्र फाँसीको फन्दा बनाउन प्रतिबन्ध छ । बरिष्ठ प्रशासनिक अधिकारीका अनुसार सरकारी आदेशबाहेक यो विशेष प्रकारको डोरीको प्रयोग पनि देशभरी प्रतिबन्ध छ । अहिलेसम्म राज्य सरकारको विशेष मागमा बक्र सेन्ट्रल जेलले सन् १९९५ मा केन्द्रीय कारागार भागलपुर, १९८१ मा महाराष्ट्र, १९९० मा पश्चिम बंगाल, २००३ मा आन्ध्र प्रदेश, २००४ मा पश्चिक बंगाल, २०१२ मा मुम्बइ र २०१३ मा दिल्लीलाई यो डोरी दिएको छ ।

फाँसीको फन्दा अहिले पनि पंजाबमा उत्पादन हुने जे–३४ गुणस्तरको कपासको धागोबाट तयार गरिन्छ । यसमा चार बंच हुन्छन् । एउटा बंचमा ९०० धागो हुन्छन् । कूल ७२०० धायोबाट डोरी तयार गरिन्छ । निर्माणपछि जेलमै बनेको विशेष डण्डीमा १०० किलोको सामान बाँधिन्छ र झट्कासँग खसालेर यसको परीक्षण गरिन्छ । यसरी निर्धारित तौल डोरीले उठाउन सकेको छ कि छैन भनेर परीक्षण गरिन्छ । यो डोरीको तौल ३ किलो ९५० ग्राम र लम्बाइ ६० फिट हुन्छ । यो डोरीको क्षमता १८४ किलो तौल उठाउन सक्ने हुन्छ ।

जेल अधीक्षकका अनुसार अहिले यो डोरीको मूल्य १७२५ रुपैयाँ छ । तर, काँचो धागोको मूल्यमा वृद्धि र यसका प्रयोग हुने पितलको खास बुशको पनि मूल्य बढेका कारण यसपटक डोरीको मूल्य बढाइनेछ । डोरी तयार भएपछि यसलाई सिलप्याक गरेर पठाइन्छ । प्रयोग गर्नुभन्दा पहिले यसमा पाकेको केरा दलेर तोरीको तेलमा डुबाइन्छ । यसो गर्दा यो डोरी निकै मुलायम हुन्छ ।

१८४४ मा अंग्रेज शासकहरुले केन्द्रीय कारागार बक्सरमा फाँसीको फन्दा तयार गर्ने फ्याक्ट्री स्थापना गरेका थिए । त्यतिबेला यसको निर्माणको लागि फिलिपिन्सको राजधानी मनिलाबाट कपास मगाइन्थ्यो । यस विशेष डोरीको नाम मनिला रस्सी थियो । यहाँ तयार गरिएको फाँसीको फन्दामा पहिलो पटक १८८४ मा एक भारतीय नागरिकलाई फाँसीको झुण्ड्याइएको थियो ।

अहिले डोरी तयार गर्न निर्देशन दिइएपछि निर्भया काण्डका ४ दोषीहरुलाई यसै महिनाको अन्त्यमा फाँसी दिइने अनुमान गरिएको छ । केन्द्रीय गृह मन्त्रालयले शुक्रबार यी आरोपीहरुको दया याचिकाको फाइल अन्तिम निर्णयका लागि राष्ट्रपतिकहाँ पठाएको छ । दुई दिन पहिले दिल्लीका उपराज्यपाल अनिल बैजलले पनि केन्द्रीय गृह मन्त्रालयमा रिपोर्ट पठाएका थिए जसमा दोषीको सजाय कुनै हालतमा माफ गर्न योग्य नभएको उल्लेख छ । १६ डिसेम्बर २०१२ मा दिल्लीमा एउटा गुडिरहेको बसमा निर्भयासँग बलात्कार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *