ज्वालामुखी विस्फोटन, मृतक व्यक्तिका बारेमा प्रहरी अनुसन्धान

डिसी नेपाल
२४ मंसिर २०७६ १९:००

वेलिङ्टन । न्यूजील्याण्ड प्रहरीले मङ्गलबार “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

ज्वालामुखीको खतरा छ भन्दै सोमबारको प्रकोपको एक हप्ता अघि नै चेतावनी दिइए पनि त्यसलाई बेवास्ता गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा प्रहरीको यस्तो भनाई सार्वजनिक भएको हो । पर्यटकका लागि निकै लोकप्रिय उत्तरी द्वीपका तटीय इलाका भ्रमण नगर्न दिइएको सुझावलाई टुर अपरेटरहरुले बेवास्ता गरे नगरेको विषयमा प्रहरीले छानबिन गर्न लागेको हो ।

प्रहरीले एक वक्तव्य जारी गरी ज्वालामुखीमा “मृत्यु र घाइतेको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको” जनाएको छ ।

यद्यपि, उनीहरूले फौजदारी अभियोगको अनुसन्धान गर्ने भनी यसअघि गरेको घोषणा भने फिर्ता लिएका छन् । प्रहरीले फौजदारी अभियोगमा छानबिन गर्न नचाहनुको कारण भने खुलाएको छैन ।

प्रहरीले छानबिन थाल्ने घोषणा गर्नुअघि ट्राभल अपरेटर कम्पनी ह्वाइट आइल्यान्ड टुर्सले सुरक्षात्मक सबै जिम्मेदारी पूर्ण रुपमा पालना गरेको जनाएको थियो ।

अधिकारीहरूले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अरु आठ जना बेपत्ता छन् । हराइरहेका आठ जनाको मृत्यु भएको उद्धारकर्ताहरुले अनुमान गरेका छन् । न्यूजील्यान्डको सबैभन्दा सक्रिय ज्वालामुखी ह्वाइट आइल्याण्डमा सोमबार दिउँसो ज्वालामुखी विस्फोट भएको थियो ।

“हामी हाम्रो सरकारी जियो साइन्स एजेन्सीको रिपोर्ट हेर्छौं । उक्त दिन ज्वालामुखीको खतराको स्तर २ रहेको मापन गरेको देखिएको छ,” अध्यक्ष पल क्विनले बताए।

कम्पनीले पर्यटकहरुलाई ह्वाइट टापुमा सतर्कता स्तर २ मा हुँदा लैजानु नै भूल हो भन्दै क्विनले यस अवस्थामा ज्वालामुखी विस्फोट हुने खतरा मध्यमदेखि उच्च हुने गर्दछ भने। (रासस/एएफपी)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *