सकियो १३ औं साग, नेपाललाई ऐतिहासिक सफलता

डिसी नेपाल
२४ मंसिर २०७६ १९:३३

काठमाडौं। १० दिनसम्म चलेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मंगलबार समापन भएको छ। विभिन्न २६ खेल समावेस गरिएको १३ औं सागका खेलहरु नेपालका विभिन्न ३ वटा शहरमा भएका थिए। काठमाडौं, पोखरा र जनकपुरमा भएका खेलहरुमा नेपालले यो पटक ऐतिहासिक सफलता पाएको छ।

नेपालले साग इतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जितेको छ। १० दिनसम्म चलेको खेलमा नेपालले हरेक दिन स्वर्ण पदक जितेको थियो। नेपालले यो पटक ५१ वटा स्वर्ण पदक जितेको छ। यसअघि नेपालले नेपालमै आयोजना भएको ८ औं साफ (१९९९) मा ३१ स्वर्ण पदक जितेको थियो।

नेपालले यो पटक ऐतिहासिक रुपमा पौडी, कुस्ती जस्ता खेलमा पनि स्वर्ण जित्यो। भारत्तोलन, एथलेटिक्समा पनि नेपालले स्वर्ण पदक जितेको थियो। यस्तै परम्परागतरुपमा मार्शलआर्टमा बलियो नेपालले यो पटक पनि कराँते, तेक्वान्दोमा स्वर्ण पदक जित्यो।

नेपालका लागि पौडीकी गौरिका सिंह सबैभन्दा सफल खेलाडी बनिन्। उनले यसअघि तेक्वान्दोका दिपक विष्टको नाममा रहेको ४ स्वर्ण जित्ने कीर्तिमानसमेत बराबर गरिन्। नेपालले व्यक्तिगततर्फ सागमा स्वर्ण जितेको यो पहिलो पटक हो।

जलपरीका नामले चर्चित १६ वर्षीया गौरिकाले यो पटक ऐतिहासिक रुपमा ४ स्वर्ण, १ रजत र १ काश्यसहित ६ पदक जितिन्। यस्तै तेक्वान्दाकी आयशा शाक्यले दुई स्वर्ण जितिन्। समग्रमा भन्नुपर्दा यो साग नेपाली महिला खेलाडीका नाममा रह्यो। नेपालले फुटबलमा पनि हजारौं दर्शकका अगाडि भुटानलाई फाइनलमा २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण जित्यो। नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्यसहित २०६ पदक जित्यो।

समग्रमा यो सागको प्रथम भने सदा झै भारत बन्यो। भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ काश्यसहित ३१२ पदक जित्यो।

यस्तै तेस्रो स्थानको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ काश्यसहित २५८ पदक जित्यो। चौथो स्थानको पाकिस्तानले ३१ स्वर्ण, ३९ रजत र ६१ काश्यसहित १३१ पदक जित्यो। पाँचौ स्थानको बांगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काश्यसहित १३८ पदक जित्यो।

माल्दिभ्सले १ स्वर्ण र ४ काश्यसहित ५ पदक जित्यो। उता भुटान भने स्वर्णबिहीन भयो। भुटानले ७ रजत र १३ काश्यसहित २० पदक जित्यो।

१३ औं सागमा अफगानिस्तानबाहेक सार्क राष्ट्रका करिब २७ सय खेलाडीले भाग लिएका थिए।

डिसेम्बर १ मा राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भव्यरुपमा उद्घाटन गरेको साग १० डिसेम्बर मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले समापन गरे। समापनका अवसरमा दशरथरंगशालामा आतिसवाजी, लेजर लाइट, विभिन्न कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।

प्रधानमन्त्री केपी ओलीले भिडियो केन्फ्रेसिंगमाफर्त समापन समारोहलाई सम्बोधन गरेका थिए। १४ औं साग ३ वर्षपछि पाकिस्तानमा गर्ने निर्णय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *