हिउँदे अधिवेशनको मिति नजिकियो, सभामुखको टुंगो छैन

डिसी नेपाल
२५ मंसिर २०७६ ११:२९

काठमाडौं। सोमबार बसेको मनिन्त्रपरिषदको बैठकले संसदको हिउँदे अधिवेशन पुस चारमा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्यो। त्यसको भोलिपल्ट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गते संसदको हिउँदे अधिवेशन अह्वान गरिन्।

संसदको हिउँदे अधिवेशनको मिति तय भएपनि संसदको नेतृत्वकर्ता सभामुख पद भने विगत दुई महिनादेखि रिक्त छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोपमा राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ। संसदको हिउँदे अधिवेशनले नै नयाँ सभामुख चयन गर्नेछ। संसद अधिवेशनको मिति नजिकिएसँगै सभामुख को बन्छ भन्ने विषयले प्राथमिकता पाउन थालेको छ।

संवैधानिक व्यवस्था अनुसार सत्तारुढ दल नेकपाले सभामुख पद आफूसँग राख्न वर्तमान उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ। संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने उल्लेख छ। अहिले उपसभामुख नेकपाबाट निर्वाचित भएकी हुन्।

यसअघि तत्कालीन माओवादीबाट सभामुख र तत्कालीन एमालेबाट उपसभामुख निर्वाचित भएका थिए। तर अहिले दुई दलबीच एकता भएर नेकपा गठन भएको छ। यस्तो अवस्थामा नेकपाले नै सभामुख र उपसभामुख आफूसँग राख्न पाउँदैन।

नेकपाले सभामुख आफूसँग राख्न वर्तमान उपसभामुख शिवमाया तुुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। स्रोतका अनुसार उपसभामुख तुम्बाहाम्फेले हिउँदे अधिवेशन अगाडि नै राजीनामा दिने तयारी गरेकी छन्। उपसभामुखले राजीनामा दिएपछि संसदको हिउँदे अधिवेशनको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा राजपा नेता महन्थ ठाकुरले गर्नेछन्।

संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ।  संसदको अधिवेशनको अध्यक्षता गर्ने जेष्ठ सदस्यको टुंगो लागेपनि नयाँ सभामुख को बन्ने भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन। यो विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच छटलफल भएपनि निष्कर्ष निस्किएको छैन।

सचिवालय बैठकमा समेत सभामुखको विषयमा छलफल नभएको नेताहरुले बताउने गरेका छन्। सभामुख कसलाई बनाउने भन्ने विषय दुई अध्यक्षले निर्णय गर्ने एक नेताले जानकारी दिए।

प्रधानमन्त्री ओली पूर्व सभामुख सुवास नेम्वाङलाई नै सभामुख बनाउन चाहन्छन्। नेम्वाङको नामप्रति प्रचण्डको पनि असहमति छैन। तर प्रचण्डमाथि पूर्व माओवादीाटै सभामुख बनाउनुपर्ने दबाव छ। पूर्व माओवादीबाट अग्नी सापकोटाको नाम चर्चामा छ। सापकोटा बाहेक देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *