पाकिस्तान–श्रीलंका टेस्ट क्रिकेट, कडा सुरक्षा व्यवस्था

डिसी नेपाल
२५ मंसिर २०७६ १४:४३

रावलपिन्डी। श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो।

श्रीलंकाली टोलीले यस पटक रावलपिन्डी र कराँचीमा दुई टेस्ट खेल्दैछ। श्रीलंकाली टोलीको यस भ्रमणबाट अन्य मुलुकलाई पनि पाकिस्तान भ्रमणमा निम्त्याउन सहज हुने पाकिस्तानले विश्वास गरेको छ।

सन् २००९ को मार्चमा लाहोरको गद्दाफी रंगशाला जाँदै गर्दा श्रीलंकाली टोलीमाथि भएको आक्रमणका क्रममा आठ जना सर्वसाधारण मारिनुका साथै धेरै खेलाडी र खेल अधिकारीहरू घाइते भएका थिए।

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पछिल्लो ताजा विवरण अनुसार ४३ ओभरमा श्रीलंकाले ३ विकेटको क्षतिमा १२४ रन बनाएको छ। रावलपिन्डी शहर पाकिस्तानी सेनाको मुख्यालय समेत रहेको निकै सुरक्षित शहरका रुपमा परिचित छ।

“अवश्य पनि आज पाकिस्तान क्रिकेटको ऐतिहासिक दिन हो र हामी सबै उत्साहित छौं,” पाकिस्तानी टिमका कप्तान अजहर अलीले भने। “हामी यस अवसरलाई जितका रुपमा सम्झनायोग्य बनाउन चाहन्छौं।”

श्रीलंकाले गत सेप्टेम्बर र अक्टुबरमा पाकिस्तानको भ्रमण गरी सीमित ओभर खेल खेलेको थियो। उक्त खेलमा सहभागी नभएका तर टेस्ट टिमको कप्तानका रुपमा पहिलो पटक पाकिस्तानको भ्रमणमा आएका दिमुथ करुणरत्नेले यस खेललाई अगाडि बढाउन उत्सुक रहेको बताए।

“हामी सबै उत्साहित छौं र खेल सुरु भएपछि क्रिकेटमा नै ध्यान केन्द्रित हुनेछ,” करुणरत्नेले बताए।

रंगशालाको वरिपरि र भित्र समेत बाक्लो सुरक्षा व्यवस्था गरिएको छ भने रंगशाला प्रवेश गर्ने राजमार्गमा समेत कडा जाँच गरिएको छ। सुरक्षा जाँचका कारण शहरको ट्राफिक अस्तव्यस्त भएको छ।
भारी सुरक्षाका बाबजूद मैदानमा प्रशंसकहरूको ठूलो भिड जम्मा भएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार अन्तर्राष्ट्रिय क्रिकेटको अनुपस्थितिले पाकिस्तानी खेल समर्थकहरुलाई खल्लो अनुभूति भएको अवस्थामा श्रीलंकाली टोलीले भ्रमण गर्नु निकै महत्वपूर्ण हो। पाकिस्तानमा खेल नहुँदा पाकिस्तानी खेलको प्रतिष्ठाका साथै “पर्याप्त” आर्थिक क्षति भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *