उचाइ कम भए पनि सगरमाथाभन्दा धेरै खतरनाक छन् यी ९ हिमाल

डिसी नेपाल
२६ मंसिर २०७६ १२:३६

काठमाडौं। हिजो अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइयो । संसारभर कैयौं यता हिमालहरु छन् जसको सफल आरोहण गर्ने प्रयासमा मानिसहरु ज्यान गुमाउँछन् । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको बारेमा कुरा गर्दा यसको शिखरमा जान चाहनेहरुलाई यहाँ लाशले बाटो देखाउँछन् भन्ने तथ्य धेरैले उल्लेख गर्छन् । तर, आरोहीलाई लाशले बाटो देखाउने हिमाल सगरमाथा मात्रै होइन । सगरमाथाले भन्दा धेरै मानिसहरुको ज्यान लिने अरु हिमालहरु छन् र तीमध्ये अधिकांश नेपालमै छन् । ९ हिमाल यस्ता छन् जसले सगरमाथाले भन्दा धेरै आरोहीको ज्यान लिने गरेका छन् । आउनुहोस् सबैभन्दा धेरै आरोहीको ज्यान लिने १० हिमालको बारेमा जानकारी लिऔं ।

१०. सगरमाथाः ८ हजार ८४८ मिटर उचाइ भएको सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो तर धेरै आरोहीको ज्यान लिने हिमालको हिसाबले यो दशौं स्थानमा पर्छ । नेपाल सरकार र अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अनुसार सगरमाथा हारोहण गर्ने ५५०० आरोहीमध्ये अहिलेसम्म ३८० जनाको मृत्यु भएको छ । अर्थात सगरमाथामा कूल आरोहीमध्ये ७ प्रतिशतको मृत्यु हुने तथ्यांक छ ।

९. ब्रोड पिकः पाकिस्तान र चीनको सीमामा रहेको यो हिमालको उचाइ ८ हजार ५१ मिटर छ । यो १२ औं अग्लो हिमाल हो । यो हिमाल आरोहण गर्नको लागि अहिलेसम्म करिब ५०० आरोही गएका छन् । यी आरोहीमध्ये करिब ७.२५ प्रतिशत आरोहीको मृत्यु भएको छ ।

८. मकालुः नेपालमा रहेको मकालु हिमालको उचाइ ८ हजार ४८५ मिटर छ र यो पाँचौं अग्लो हिमाल हो । यसमा चढ्न भने सगरमाथामा चढ्नभन्दा कठिन छ । नासाको तथ्यांकअनुसार मकालु आरोहण गर्न गएका आरोहीहरुमध्ये करिब ९ प्रतिशतले ज्यान गुमाएका छन् ।

७. गशरब्रम–१ः पाकिस्तानको गिलगिट बाल्टिस्तानमा रहेको यो हिमालको उचाइ ८ हजार ८० मिटर छ । यो ११ औं अग्लो हिमाल हो । यो हिमाललाई कृत्युको शिखर नामले चिनिन्छ । यसलाई हिडेन पिक पनि भनिन्छ । यो हिमालमा चढ्ने आरोहीमध्ये ९ प्रतिशत आरोहीले आरोहणको क्रममा ज्यान गुमाउँछन् ।

६. मनासलुः नेपालमा रहेको यो हिमालको उचाइ ८ हजार १६३ मिटर छ र यो आठौं अग्लो हिमाल हो । यो हिमालको शिखर निकै चुच्चो छ । यो चुच्चो शिखरमा एक पटकमा निकै कम आरोहीलाई चढ्न ठाउँ पुग्छ । यो हिमाल आरोहण गर्ने क्रममा १० प्रतिशत आरोहीले ज्यान गुमाउँछन् ।

५. कञ्चनजंघाः नेपालको ताप्लेजुङ जिल्लामा नेपाल भारत सीमा क्षेत्रमा रहेको यो हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो तेस्रो अग्लो हिमाल हो । कञ्चनजंघामा अधिकांश आरोहीहरुको मृत्यु हिमस्खलनका कारण हुन्छ । यहाँ आरोहण गर्न जाने आरोहीमध्ये करिब १५ प्रतिशतले आरोहणकै क्रममा ज्यान गुमाउँछन् ।

४. धौलागिरीः नेपालमा रहेको ८ हजार १६७ मिटर अग्लो धौलागिरी अर्थात सेतो हिमाल धेरै आरोहीहरुको ज्यान लिने हिमालको सूचीमा चौथो नम्बरमा पर्छ । यो हिमाल सातौं अग्लो हिमाल हो । धौलागिरीको आरोहण गर्न जाने आरोहीहरुमध्ये करिब १६ प्रतिशत आरोहीले आरोहणकै क्रममा ज्यान गुमाउँछन् ।

३. नंगा पर्वतः पाकिस्तानको गिलगिट बाल्टिस्तानमा अवस्थित नंगा पर्वत धेरै आरोहीहरुको ज्यान लिने हिमालको सूचीमा तेस्रो स्थानमा पर्छ । ८ हजार १२६ मिटर अग्लो यो हिमाल ९ औं अग्लो हिमाल हो । यो हिमालको आरोहण गर्न गएका आरोहीमध्ये २० प्रतिशतले आरोहणकै क्रममा ज्यान गुमाउँछन् । यो हिमाललाई हत्यारा हिमाल पनि भनिन्छ ।

२. के–टुः पाकिस्तान र चीनको सीमामा रहेको केटु हिमाल दोस्रो अग्लो हिमाल हो । यसको उचाइ ८ हजार ६११ मिटर छ । यो सगरमाथाभन्दा मात्रै २३७ मिटर होचो छ तर यसले सगरमाथा भन्दा कैयौं गुणा धेरै आरोहीको ज्यान लिन्छ । यो हिमालमा अधिकांश आरोहीहरुको मृत्यु शिखरमा पुगिसकेपछि फर्कने क्रममा हुन्छ । यो हिमालमा करिब २९ प्रतिशत आरोहीले ज्यान गुमाउँछन् ।

१. अन्नपूर्ण १ः सबैभन्दा धेरै आरोहीको ज्यान लिने हिमाल अन्नपूर्ण १ हो र यो हिमाल नेपालमै छ । ८ हजार ९१ मिटर अग्लो यो हिमाल १० औं अग्लो हिमाल हो । यो हिमालमा आरोहणका क्रममा ३२ प्रतिशत आरोहीले ज्यान गुमाउँछन् । यहाँ आरोहीको मृत्युदर खगरमाथाभन्दा ४ देखि ५ गुणा बढी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *