सवारी दुर्घटनामा ७ को मृत्यु ६ घाईते

डिसी नेपाल
२६ मंसिर २०७६ १३:४९

काठमाडौं । देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

मकवानपुर, बर्दिया, सुनसरी, नवलपरासी(पूर्व), दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो ।

मकवानपुरको हटौंडा उपमहानगरपालिकामा सडकमा ना.४२ प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री हेटौंडा उपमहानगरपालिका–५ चिसापानी डेरा गरी बस्ने पर्सा बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वाभाठा स्थायी घर भएकी ४५ वर्षीया प्रमिलादेवी पासवानको जिल्ला अस्पतालहेटौंडामा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्सा जिल्लाको पर्सागढी नगरपालिका–६ बस्ने ३० वर्षीय कन्चन ठाकुरको सोही अस्पताल र मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीया शर्मिला थापा मगरको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।

त्यस्तै बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका बैधीस्थित सडकमा भे. १ च १२१६ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने ५ वर्षीया सामना थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । साथै जिपको ठक्करबाट घाइते भएका पैदलयात्री ७० वर्षीया रुकमणी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिकाको पानीपिया जंगलस्थित सडकमा को. २३ प ४०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३९ वर्षीय पुरुषको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै सोही जिल्लाकै रामधुनी नगरपालिकामा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

यसैगरी नवलपरासी (पूर्व)को देवचुली नगरपालिका दुम्कौलीमा ग. १ ख ४७९८ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको बुधबार साँझ घटनास्थलमै मृत्युभएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा नम्बर नखुलेको जेसिबी अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका जेसिबीमा सवार बिगु गाउँपालिका खोपाचाँकु बस्ने २३ वर्षीय राजु थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जेसिबी चालकसहित ३ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

त्यस्तै सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिकामा बा. ४ ख ६४२९ नम्बरको टिपरको ठक्करबाट सोही गाउँपालिका भाङ्टार बस्ने पैदलयात्री ४७ वर्षीय पन्चबीर दनुवारको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *