प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

डिसी नेपाल
२६ मंसिर २०७६ १७:२०

काठमाडौं । नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले बिहीबार नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित पत्रकार सम्मेलनमा बताए । ‘लिगकम नकआउट’का आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले ५०÷५० हजार पुरस्कार प्राप्त गर्र्नेछन् । महासेनानी रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार प्रदान गरिनेछ ।

सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । “सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ”, महासेनानी रायमाझीले भने । विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गर्दै आएको सो प्रतियोगिता यसपटक विदेशी फुटबल टोलीको आग्रहमा लिगकम नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको उनले भने । खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ । प्रतियोगिताको उद्घाटन खेल मङ्सिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको मुख्यालयस्थित खेल मैदानमा हुनेछ । प्रतियोगिता आगामी पुस ९गतेसम्म चल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *