आइपिएल अक्सनः बिहीबार हुने लिलामीका लागि ९७१ निवेदनबाट ३३२ खेलाडी छानिए

डिसी नेपाल
२७ मंसिर २०७६ ११:१७

काठमाडौं। सबैभन्दा ठूलो मानिएको टि–२० लिग इण्डियन प्रिमियर लिगको आगामी संस्करणको लागि खेलाडीको लिलामी आगामी बिहीबार हुँदैछ । आइपिएल अक्सनका लागि विश्वभरबाट ९७१ खेलाडीले आवेदन दिएका थिए । तीमध्ये ३३२ खेलाडी र्टलिट गरी छानिएको हो । लिलामी आगामी डिसेम्बर १९ मा कोलकातामा हुँदैछ ।

यसपटकको अक्सनको लागि सबेभन्दा धेरै २ करोड बेस मूल्यमा ७ जना खेलाडी छन् । यीमध्ये ४ खेलाडी अस्ट्रेलियाका छन् । अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, प्याट कमिन्स, जोश हेजलउड र मिचेल मार्शसँगै दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरिस, श्रीलंकाली अलराउण्डर एन्जेलो म्याथ्युज र दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेन २ करोड बेस प्राइसका खेलाडी हुन् ।

यो आीपएल अक्सनमा विभिन्न फ्रेन्चाइजले रिलिज गरेका केही खेलाडीहरु ठूलो मूल्यमा बिक्ने अनुमान गरिएको छ । अस्ट्रेलियाका कप्तान आरोन फिन्च, ओपनर क्रिस लिन, इङल्याण्डका ब्याट्सम्यान जेसन रोय, इयान मोर्गन तथा विकेटकिपर ब्याट्सम्यान रबिन उपप्पासमेत ठूलो मूल्यमा बिक्री हुने अनुमान गरिएको छ ।

बुधबार आइपिएलको प्रशासनले आठै फ्रेन्चाइजलाई सर्टलिस्ट गरिएका खेलाडीको सूची पठाएको छ । यो सूचीमा आवेदन दिएका ९७१ खेलाडीबाट ३३२ खेलाडीलाई मात्र सर्टलिस्ट गरेर समावेश गरिएको छ । यो सूचीमा १९ भारतीय क्याप्ड खेलाडीहरु पनि छन् जो भारतको राष्ट्रिय टिमबाट कम्तीमा पनि १ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । यो सूचीमा २४ नयाँ खेलाडीको नाम पनि थपिएको छ । यी २४ खेलाडीहरु आठ फ्रेन्चाइजकै आग्रहमा थप गरिएका हुन् ।

इएसपिएनक्रिकइन्फोका अनुसार नयाँ सूचीमा वेष्ट इण्डिजका केस्रिक विलियम्स, अस्ट्रेलियाका ड्यान क्रिस्चियन, लेगस्पिनर आडम जाम्पा, बंगलादेशी विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहीम तथा २१ वर्षका सर्रे खेलाडी विल ज्याक्स पनि छन् । ज्याक्सले प्रि सिजन टि–१० म्याचमा लंकाशयरविरुद्ध युएइमा भएको खेलमा २५ बलमै शतक हानेका थिए ।

अक्सनका सबैभन्दा पहिले ब्याट्सम्यानको लिलामी हुनेछ । त्यसपछि क्रमशः अलराउण्डर, विकेटकिपर ब्याट्सम्यान, फास्ट बलर र स्पिनरको लिलामी हुनेछ । आगामी सिजनमा आठवटै फ्रेन्चाइजमा गरी कूल ७३ खेलाडीको लागि ठाउँ खाली छ । यीमध्ये २९ स्थान विदेशी खेलाडीको लागि खाली छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *