टि–२० अन्तर्राष्ट्रियमा विराट र रोहितको अद्भूत संयोग, यस्तो घटना फेरि शायदै होला

डिसी नेपाल
२८ मंसिर २०७६ ९:००

काठमाडौँ । भारतका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच टि–२० अन्तर्राष्ट्रियमा अद्भूत संयोग बनेको छ । बुधबार राती भएको वेष्ट इण्डिज विरुद्धको टि–२० अन्तर्राष्ट्रियमा यो अद्भूत संयोग बनेको हो । यो खेलपछि टि–२० अन्तर्राष्ट्रियमा बैभन्दा धेरै रन बनाउने खेलाडी एउटा नभइ यी दुवै साझा रुपमा शीर्ष स्थानमा पुगेका छन् ।

यो खेलमा रोहित शर्माले ७१ र विराट कोहलीले ७० रन बनाए । तर अद्भूत रुपमा यो इनिङ सकिँदा यी दुवै खेलाडीको टि–२० अन्तर्राष्ट्रियको कूल रन २ हजार ६३३ हुन पुग्यो । इनिङका हिसाबले भने रोहित भन्दा विराट अगाडि छन् । विराटले ७५ खेलका ७० इनिंगमा २० पटक नटआउट रहँदै २६ सय ३३ रन बनाएका छन् । उनको औसत ५२.६६ रहेको छ ।

रोहितले १०४ खेलका ९६ इनिंगमा १४ पटक नटआउट रहँदै २६ सय ३३ रन बनाएका छन् । रोहितको औसत ३२.१० छ । शतकको हिसाबले भने विराट भन्दा रोहित धेरै अगाडि छन् । एकदिवसीय क्रिकेटमा ४३ र टेस्ट क्रिकेटमा २७ शतक बनाएका विराटले टी–२० अन्तर्राष्ट्रिय खेलमा भने अहिलेसम्म शतक बनाउन सकेका छैनन् । उनको उच्च स्कोर ९१ नटआउट हो । रोहितले भने टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ शतक बनाएका छन् ।

विराट र रोहितपछि टी–२० अन्तर्राष्ट्रियमा धेरै रन न्युजील्याण्डका मार्टिन गप्टिलले बनाएका छन् । उनले २ हजार ४३६ रन बनाएका छन् । त्यस्तै पाकिस्तानका शोएब मलिकले २ हजार २६३, न्युजील्याण्डका ब्रेण्डन म्याकुलमले २ हजार १४०, अस्ट्रेलियाका डेभिड वार्नरले २ हजार ७९ र इङल्याण्डका इयान मोर्गनले २ हजार २ रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *