आइपिएल लिलामीः पंजाबसँग सबैभन्दा धेरै पैसा बाँकी, ४ टिमले १० खेलाडी किन्न पाउने

डिसी नेपाल
२८ मंसिर २०७६ १२:०३

काठमाडौं। इण्डियन प्रिमियर लिगको १३ औं सिजनको लागि कोलकातामा १९ डिसेम्बरमा खेलाडीको लिलामी हुँदैछ । ३३२ खेलाडीको अन्तिम सूची जारी भइसकेको छ । यो सूचीबाट ७३ खेलाडी ८ टिमले किन्नेछन् ।

किंग्स ११ पंजाबसँग खेलाडी किन्नको लागि सबैभन्दा धेरै पैसा बाँकी छ । पंजाबसँग खर्च गर्न पाउने पैसा ४२.७० करोड रुपैयाँ बाँकी छ । कूल ८५ करोड खर्च गर्न पाइनेमा यो टिमले अहिलेसम्म ४२.३० करोड खर्च गरिसकेको छ । यो सिजनका लागि ८ फ्रेन्चाइजले ३५ विदेशी समेत १२७ खेलाडीलाई आफूसँगै राखेका छन् । यीमध्ये एक खेलाडी नेपाली पनि छन् ।

मुम्बइ इण्डियन्सले अहिलेसम्म सबैभन्दा धेरै पैसा खर्च गरिसकेको छ । उसले अहिलेसम्म ७१.९५ करोड खर्च गरिसकेको छ । चेन्नइ सुपरकिंग्सले पनि ७०.४० करोड खर्च गरिसकेको छ । तेस्रो स्थानमा रहेको सनराइजर्स हैदराबादले ६८ करोड खर्च गरिसकेको छ । लिलामीको लागि अब हैदराबादसँग १७ करोड मात्र बाँकी छ । कोलकाता नाइटराइडर्ससँग ३५.६५ करोड, राजस्थान रोयल्ससँग २८.९० करोड, रोयल च्यालेन्जर्स बैंगलोरसँग २७.९० करोड, चेन्नइ सुपरकिंग्ससँग १४.६० करोड, दिल्ली क्यापिटल्ससँग २७.८५ करोड, हैदराबादसँग १७ करोड, मुम्बइसँग १३.०५ करोड बाँकी छ ।

लिलामीका क्रममा ४ टिमले १० जना वा सोभन्दा बढी खेलाडीहरु किन्न पाउँछन् । रोयल च्यालेन्जर्स बैंगलोरले सबैभन्दा बढी १२ खेलाडी किन्न पाउँछ । यीमध्ये ६ खेलाडी विदेशी किन्न पाउँछ । दिल्लीमा ११ खेलाडीको ठाउँ खाली छ । दिल्लीले बढीमा ५ विदेशी खेलाडी किन्न पाउँछ । कोलकातामा ११, राजस्थानमा ११, पंजाबमा ९ र मुम्बइमा ७, हैदराबादमा ७ र चेन्नइमा ५ खेलाडीको ठाउँ खाली छ । कोलकाताले बढीमा ४, पंजाबले ४, मुम्बइले २, हैदराबादले १ र चेन्नइले २ विदेशी खेलाडी किन्न पाउँछ ।

हैदराबादले लिलामीअगाडि सबैभन्दा कम ५ खेलाडीलाई रिलिज गरेको थियो । बैंगलोरले सबैभन्दा धेरै १२ खेलाडीलाई रिलिज गरेको थियो । यस पटक फ्रेन्चाइजहरुले धेरै नामी खेलाडीहरुलाई पनि टिमबाट बाहिर पठाएका छन् । यीमध्ये सबैभन्दा धेरै आश्चर्यजनक नाम रबिन उथप्पा, युवराज सिंह, क्रिस लिन र शिमरन हेटमेयरको छ । २०१९ मा उथप्पा केकेआरका लागि १२ खेल खेलेका थिए । तर उनले एक पटक मात्र अर्धशतक बनाउन सकेका थिए । उनको स्ट्राइक रेट पनि ५ वर्षमा सबैभन्दा कम ११५.१० थियो । गत सिजन कोलकाताले उथप्पालाई ६.४ करोडमा किनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *