१० तस्वीरमा हेर्नुहोस् पर्यटकीय महत्व बोकेको जहरसिंह पौवाको सुन्दरता

डिसी नेपाल
२८ मंसिर २०७६ १५:०७

काठमाण्डौं । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढेको छ । काठमाडौंको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा रहेको साँखुसम्म मोटरबाटोको स्तरोन्नति भएमा शंखरापुर नगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटक बढाउन सहज हुने देखिएको छ । जहरसिंह पौवा पुग्न साँखुबाट ६ किमि लाग्दछ । बाटो अलि कठिन भएतापनि जहरसिंह पौवाको मनोरम दृष्यले कठिन यात्रालाई विर्साइदिन्छ ।

स्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शंखरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौंबाट उत्तर शालिनदी, साँखु, मणिचुड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ बर्सेनि धार्मिक पर्यटकको वृद्धि हुँदै छ । ती क्षेत्रलाई थप विकास गर्दै प्राकृतिक पहाडी वन जंगल, मणिचुड, झुले देउराली, जहरसिंह पौवा र थाना भञ्ज्याङलाई पर्यटकीय र धार्मिक क्षेत्रका रूपमा विकसित गर्न शंखरापुर नगरपालिकाले बजेट विनियोजन गरेपछि थप पर्यटकीय विकास हुने सम्भावना देखिएको छ ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लासँग जोडिएको शंखरापुर नगरपालिकाको वनभोजस्थल जहरसिंह पौवामा नगरपालिकाले हिमाल र सूर्याेदय अवलोकनका लागि बनाएको स्तम्भका कारण पनि यहाँ चहलपहल बढेको छ । यसका साथै थाना भञ्ज्याङमा केबुलकार सञ्चालनको पनि पहल हुँदै गरेको छ । कुल भूभागको ३६ प्रतिशत जंगल रहेको शंखरापुरमा जंगल सफारी, बंगुरपालन, हाइकिङ, साइक्लिङ, चामल र आलुको बजार विस्तारजस्ता काममा पनि नगरपालिकाले पहल जानकारी गराएको छ ।

नगरपालिकाले चीनको ल्हासा नगरपालिका र अन्तर्रा्ष्ट्रिय बौद्ध पर्यटन केन्द्रको सहयोगमा चाँपाबोट र चिहानडाँडामा स्रङ्चङ् गम्पो र भृकुटीको पार्क बनाउन पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय पर्यटनको सम्भाव्यता उजागर गर्न नगरस्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयार गरिने प्रमुख सुवर्ण श्रेष्ठले बताए । छिमेकी कागेश्वरी मनहरा र गोकर्णेश्वर नगरपालिका सम्मिलित अन्तरनगर समन्वय समितिको पहलमा तारेभिरदेखि जहरसिंहपौवासम्म साइक्लिङ र पदमार्ग निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ ।

जहरसिंह पौवाको चौकी भन्ज्याङ,, नगरकोट, चापाबोट, र साँखुको लागि मुख्य जंक्शन छ, र जहरसिंहपौवाबाट सांखु (दक्षिण) र सिन्धुपाल्चोक(उत्तर) सम्म पुग्ने बसहरू पाइन्छन्। यस क्षेत्रमा धेरै पसलहरू, खाद्य पदार्थहरू र बैंक सुविधाहरू छन्। यहाँ, एक रमाईलो पिकनिकको लागि र हिमालको दृश्य र हरियो जंगलको साथ एक यो राम्रो ठाउँको मजा लिन सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *