ब्रिजवाटर कप फुटबल प्रतियोगिता–२०७६ हुने

डिसी नेपाल
२८ मंसिर २०७६ २०:१६

भक्तपुर । प्रथम पुरस्कार एक लाख राशिसहितको उपत्यकाकै पहिलो प्लस टु ‘ब्रिजवाटर कप फुटबल प्रतियोगिता–२०७६’ हुने भएको छ ।

फुटबल खेलाडी जन्माउँदै आएको मध्यपुर युथ एशोसिएनसँगको सहकार्यमा भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ४ सानोथिमिस्थित मध्यपुर युथ एशोसिएसनको खेल मैदानमा आइतबारदेखि शुरु हुने सो प्रतियोगितामा उपत्यकाका कक्षा १२ सम्म सञ्चालित ३२ विद्यालयको सहभागिता हुने ब्रिज वाटर इन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले बताए।

पुस १२ गतेसम्म नकआउटका आधारमा हुने प्रतियोगितामा विजेता विद्यालयलाई एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रत्येक खेलमा एक जनालाई म्यान अफ दी म्याचबाट पुरस्कृत गरिने उक्त प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिनेछ ।

कलेजका प्राचार्य तेज श्रेष्ठले उपत्यकाव्यापी विद्यालयस्तरमा यति ठूलो राशिको पुरस्कार रहेको प्रतियोगिता पहिलोपटक ब्रिजवाटर इन्टरनेशनल कलेजले सञ्चालन गर्न लागेको बताउँदै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए।

प्रतियोगिताबारे जानकारी दिँदै मध्यपुर युथ एशोसिएसनका अध्यक्ष, प्रतियोगिताका संयोजक एवं अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष उपेन्द्रमान सिंहले यो प्रतियोगिता अब हरेक वर्ष गरिने जानकारी दिए। प्रतियोगिताले नेपालका फुटबल क्लबलाई उत्कृष्ट खेलाडी छनोट गर्ने अवसर प्राप्त हुने बताउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा खेलाडी उत्पादन गर्न यसले ठूलो टेवा दिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *