प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल शुरु : सैनिक खेलाडीबाट गोलको वर्षा

डिसी नेपाल
२९ मंसिर २०७६ १९:५५

काठमाडौं । प्रधानसेनापति सातौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा सञ्चालित उक्त प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयस्थित खेल मैदानमा उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत आज भएको पहिलो उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई शून्यका विरुद्ध नौ गोलले पराजित ग¥यो । खेल शुरु भएको २ मिनेटमा अग्रता लिएको त्रिभुवन आर्मी क्लबले मध्यान्तरअघि ५ र मध्यान्तरपछि ४ गोल गरेको थियो ।

आर्मीका तर्फबाट शर्मिला थापा मगर र रेश्मीकुमारी घिसिङले ३–३ गोल गरिन भने विमला चौधरीले २ र सपना लामाले १ गोल गरिन । प्रधानसेनापति थापाले आजको प्रतियोगिताको विशिष्ट खेलाडीको सम्मान त्रिभुवन आर्मी क्लबका मगरलाई प्रदान गरे ।

खेल शुरु भएसँगै २, ७, १०, ४३, ४४, ५८, ६५, ७३ र ७५ मिनेटमा आर्मीका खेलाडीले लगातार गोल वर्षाएका थिए । शुरुदेखि निरन्तर दवावमा रहेका प्रदेश नं १ का खेलाडीले मध्यान्तरपछि खेलमा केही सुधार गरे पनि आक्रमकरुपमा प्रस्तुत भएका सेनाका खेलाडी सामु उनिहरुको प्रदर्शनी फितलो सावित भएको थियो ।

प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशका फुटबल टोली सहभागी छन् । आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

लिग र नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले ५०÷५० हजार पुरस्कार प्राप्त गर्र्नेछन् । महासेनानी शशिकिरण रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ ।

यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही १०÷१० हजार प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । “सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता आयोजना गरिएको महासेनानी रायमाझीले बताए।

विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गरिँदै आएको सो प्रतियोगिता यस पटक विदेशी फुटबल टोलीको आग्रहमा लिग र नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको हो । खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाका दुई मैदानमा खेलाइनेछ ।

प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ । उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पीताम्बर तिमिल्सिना, पूर्वप्रधानसेनापतित्रय प्रज्वलशम्शेर राणा, प्यारजङ्ग थापा र राजेन्द्र क्षत्रीलगायत सुरक्षा निकायका उच्चपदस्थ अधिकृत र खेलप्रेमी आजको खेल हेर्न सैनिक मुख्यालय पुगेका थिए। यसअघि प्रतियोगिताका बारेमा जानकारी दिँदै उपरथी शशिचन्द्रबहादुर सिंहले राष्ट्रको खेल क्षेत्रको विकासका लागि खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको बताएका थिए । उनले ‘स्वास्थ्यका लागि खेलकूद र राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिताले मित्रता कायम गर्न योगदान पु¥याउने विश्वास पनि व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *