जडेजाको विवादित रनआउटका विषयमा कोहलीले भने – ‘यस्तो कहिल्यै देखेको थिइन’

डिसी नेपाल
३० मंसिर २०७६ १२:५६

चेन्नइ। भारतको चेन्नइमा हिजो भएको पहिलो एकदिवसीयमा वेष्ट इण्डिजले भारतलाई ८ विकेटले पराजित गरेको छ । यो खेलमा भारतका अलराउण्डर रविन्द्र जडेजा रनआउट भए । यो रनआउटका विषयमा भारतीय कप्तान विराट कोहलीले असन्तुष्टि व्यक्त गर्दै आफूले क्रिकेटमा यस्तो कहिल्यै नदेखेको बताएका छन् । खासमा जडेजा आउट भएका थिए तर ग्राउण्ड अम्पायरले वेष्ट इण्डिजको अपिल अस्वीकार गरेका थिए ।

अम्पायरले अपिल अस्वीकार गरे लगत्तै ग्राउण्डमा लगाइएको ठूलो स्क्रिनमा यो घटनाको रिप्ले देखाइयो । रिप्ले हेरेपछि वेष्ट इण्डिजका खेलाडीले रनआउटको फेरि अपिल गरे । त्यसपछि दक्षिण अफ्रिकी अम्पायर शन जर्जले फैसला तेस्रो अम्पायरकहाँ पठाए । थर्ड अम्पायरले जडेजालाई रनआउट दिए । यो घटना भारतको इनिङको ४८ औं ओभरमा भएको थियो । फिल्डर रोस्टन चेजले डाइरेक्ट थ्रो गरेको बल स्टम्पमा लागेको थियो । यो घटनापछि अम्पायर शन जर्ज विवादमा परेका छन् ।

कोहलीले भने ‘सामान्य कुरा हो, फिल्डरले सोधे के भएको हो ? अम्पायरले भने रनआउट छैन । कुरा यहीँ सकिन्छ । मैदानबाहिर बसेका मानिसहरु टिभीमा देखेर खेलाडीलाई अम्पायरसँग दोस्रो पटक अपिल गर्न भन्न सक्दैनन् । मैले यस्तो क्रिकेटमा कहिल्यै देखेको छैन । मेरो हिसाबमा म्याच रेफरी र अम्पायरहरुले यस विषयमा समीक्षा गर्नुपर्छ र यस्तो फेरि नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ ।’ उता वेष्ट इण्डिजका कप्तान किरोन पोलार्डले भने मैदानी अम्पायरले सही निर्णय गरेको बताएका छन् । ’हामीले अपिल गर्यौं उनले तत्काल निर्णय गरेर आउट दिएनन् । त्यसपछि उनलाई थर्ड अम्पायरकहाँ जान सही लाग्यो जो उनले गरे’ पोलार्डले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *