पूर्वका धार्मिक तथा पर्यटकिय क्षेत्र हवाई सेवामार्फत जोडिँदै

डिसी नेपाल
१ पुष २०७६ २०:१०

ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी, लुक्लालगायतका ठाउँमा हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका हुन् । सीता एयरले आइतबारदेखि दैनिक भद्रपुर–ताप्लेजुङ सिधा उडान शुरु गरेको छ ।

लामीडाँडा, लुक्लामा उडान भइरहेको माउण्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार पाथीभरा र हलेसी दर्शनको प्याकेज नै बनाइएको छ । जसअनुसार भद्रपुर र विराटनगरबाट २३ हजारमा पाथीभरा आवतजावत गर्न सकिन्छ । भद्रपुर र विराटनगर दुवै ठाउँबाट सीता एयरले सुकेटार विमानस्थलसम्म दैनिक उडान भर्नेछ भने सुकेटारबाट माउण्टेन एयरको हेलिकप्टरले दर्शनार्थीलाई मन्दिरसम्म लगेर पुन सुकेटारमा ल्याउने छ । पाथीभराको दर्शन पछि सुकेटारबाट यात्रुले भद्रपुर, विराटनगर नभई लुक्ला जान पाउनेछन् ।

हवाई सेवा शुरु भएपछि लुक्लाबाट पाथीभरामा दर्शनार्थी आउन थालेका छन् । हलेसी दर्शनको २३ हजारको प्याकेज बनाएर उडान भर्न थालिएको बताइएको छ । माउण्टेन हेलिकप्टरले धरानको भेडेटारबाट पाथीभरा उडान शुरु गरेको छ । भेडेटारबाट पाथीभरासम्मको ओहोरदोहोर भाडा ३० हजार छ । हवाई सेवाले तीर्थयात्रीलाई मात्रै नभई अन्य यात्रुलाईसहज बनाएको छ । सीता एयरको विमान बिहान भद्रपुरबाट सुकेटार र सुकेटारपछि लुक्ला हुँदै काठमाडौँ जानेछ । पुनः काठमाडौँबाट लुक्ला हुँदै सुकेटारआई भद्रपुर वा विराटनगर फर्कने बताइएको छ ।

प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको पूर्वमा पर्यटकको आकर्षण बढ्दै गएको र यहाँ रहेका दर्जनौँ विमानस्थलमा हवाई सेवा नभएकाले यस क्षेत्रमा हवाई सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । यसले पर्यटन वर्षलाई सफल बनाउन सहयोग पुग्ने हवाई सेवा कम्पनीको विश्वास छ ।

सुकेटार विमानस्थलबाट नियमित उडान शुरु भए पनि स्थानीयले तराईका भूभागसहित काठमाडौँसम्मको यात्रामा सहज हुने विश्वास लिएका छन् । पर्यटकको सङ्ख्यामा वृद्धि भई पर्यटन प्रर्वद्धन हुनुका साथै जटिल प्रकृतिका बिरामीको उद्धारमा सहयोग पुग्ने उनीहरुको भनाइ छ । पूर्वका सबै विमानस्थलमा हवाई सेवा नियमित बने भारतको सिक्किम, दार्जलिङलगायतका पर्यटकलाई सहज हुने देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *