नेपालको स्याटेलाइटले ३ देशका तस्वीर पठायो

डिसी नेपाल
२ पुष २०७६ १३:२५

टोकियो । जापानमा निर्माण भएको नेपालको पहिलो न्यानो स्याटेलाईटले तीन देशको तस्विर पठाएको छ । जापानमा स्पेस ईन्जिनियरिङ अध्ययनरत आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार पारेको भू उपग्रह नेपाली स्याट–१ ले भुटान, बंगलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर खिचेको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेसन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्बिर लिन सफल भएको हो । करिब एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्बिर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको नाष्टका प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण उपग्रहले नेपालको तस्विर भने खिच्न नसकेको बताईएको छ । नाष्टले आफ्ना प्राविधिक इञ्जिनियरलाई ग्राउण्ड स्टेसनबारे थप अध्ययनको लागि जापान पठाउने तयारी गरेको जनाएको छ । नाष्टले भूउपग्रहबारे तीनदेखि चार दिनको तथ्यांक संकलन गरेर अध्ययन गर्दा ती तस्बिर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गत वैशाख ४ गते नेपाली स्याट–१ नामक उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो ।

नेपाली स्याट–१ मा पाँच मेगा पिक्सलको क्यामेरा जडान गरेका कारण यसबाट अलि धमिलो तस्बिर कैद हुने बताइएको छ ।
गत साउन पहिलो साता नेपाली स्याट–१ ले पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सीमानाका खिचेका तस्बिर जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि नाष्टले सार्वजनिक गरेको थियो ।

नेपाली स्याट–१ सँग दुईदेखि तीन वर्षसम्म तस्बिर संकलन गर्ने क्षमता छ । जापानको ‘बर्ड–३’ परियोजना मार्फत् मुलुकले उक्त भूउपग्रहको काम अघि बढाएको थियो। नेपाली स्याट–१ सँगै गत वैशाख ४ गते श्रीलंकाले रावण–१ र जापानले युवुसु नामक भूउपग्रह एकैसाथ प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको थियो ।

स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नाष्टको लोगोसहित विद्यार्थीहरुको नाम पनि उल्लेख छ । स्याटेलाइटको तौल एक किलो तीन सय ग्राम रहेको छ । यसमा नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । स्याटेलाईट जापानमा निर्माण भएपनि अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल ए टिके मार्फत प्रक्षेपण गरिएको थियो । नेपाली स्याट १ ले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउने गरेको छ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउने गरेको नास्टले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *