काठमाडौँ म्याराथन पुस ५ गते हुने

डिसी नेपाल
३ पुष २०७६ १७:०७

काठमाडौं । प्रो स्पोर्टस् प्रालीको आयोजनामा हुने १३औँ संस्करणको काठमाडौँ म्याराथन प्रतियोगिता यही पुस ५ गते हुने भएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले ७ स्पर्धामा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने बताए ।

प्रदेश ३ का पर्यटनमन्त्री अरुणप्रसाद नेपालले प्रतियोगितालाई काठमाडौँ बाहिर पनि लैजानुपर्ने सुझाव दिनुभयो । प्रतियोगितामा महिला र पुरुषको म्याराथन, हाफ म्याराथन, पाँच किमीको खुला दौड, कर्पोरेट रिले, पाँच किमीकै छात्रा र छात्र दौड र तीन किमीको ह्वीलचेयर दौड हुनेछ । त्यस्तै यसपटकको म्याराथनमा फेमिली दौड पनि समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

म्याराथन त्रिपुरेश्वरबाट शुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन ढोका, युएनपार्क, शङ्खमूल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर विमानस्थल, गौशाला, पशुपत, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घण्टाघर, भद्रकाली र शहीदगेट हुँदै दशरथ रङ्शालामा पुगी समाप्त हुने छ ।

यस्तै हाफ म्याराथन त्रिपुरेश्वरबाट शुरुभई थापाथली, माइतीघर, सिंहदरबारको दक्षिणी गेट, हनुमानथान, अनामनगर, प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट हुँदै रङ्शालामा आएर सकिनेछ । म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेता खेलाडीले रु ५० हजार, दोस्रो हुने खेलाडीले रु २० हजार तथा तेस्रोले रु १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै हाफ म्याराथनतर्फ महिला पुरुष दुवैको विजेताले रु २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने खेलाडीले रु सात हजार पाउनेछन् । पाँच किमीको खुला दौडको विजेताले रु १० हजार, दोस्रोले रु छ हजार र तेस्रो हुने खेलाडीले रु चार हजार प्राप्त गर्नेछन् ।

कर्पोरेट रिलेतर्फको विजेताले रु २० हजार, दोस्रोले १० र तेस्रो हुने खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् । पाँच किमीकै छात्रा र छात्र दौड र तीन किमीको ह्वीलचेयर दौडको विजेताले रु पाँच हजार, दोस्रोले तीन हजार र तेस्रो हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन्।

त्यसैगरी फेमिलीतर्फको दौडको विजेताले रु १० हजार, दोस्रोले रु पाँच हजार तथा तेस्रो हुनेले रु तीन हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *