स्वास्थ्य संस्थाले सौर्य ऊर्जा पाएसंगै सेवा प्रभावकारी
जाजरकोट। स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि जिल्लाको नलगाड नगरपालिकाले विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा वितरण गरेको छ। नगरपालिकाभित्रका वडा नं ३, ७ र १२ मा रहेका स्वास्थ्य संस्थामा सौर्य ऊर्जा सहयोग गरेसँगै यहाँको सेवा प्रवाहमा सुधार आएको छ।
विद्युत् नभएर सुत्केरी सेवा, ल्याब सेवा सञ्चालनमा समस्या हुँदै आएका यी ठाउँमा अहिले सौर्य ऊर्जाबाट सबै काम गर्न सजिलो भएको औलगुत्तास्थित स्वास्थ्य संस्थाका सुमिना चन्दले बताईन्। मोबाइल, टर्च र सल्लीको दियालो बालेर प्रसूतिगृहमा सेवा प्रवाह गर्दै आएका स्वास्थ्य संस्थामा अहिले सेवा लिन आउने सेवाग्राहीसमेत खुशी छन्।
डाँडागाउँ, दल्ली र औलगुत्तामा पहिलो चरणमा सौर्य ऊर्जा दिएर राम्रो सेवा प्रवाह भएको पाइएको र अब पूर्ण मागका आधारमा अन्य ठाउँमा सेवा दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। कैनास्थित स्वास्थ्य संस्थामा यो आर्थिक वर्षमै खानेपानी र सुविधायुक्त शौचालय निर्माण कार्य जारी रहेको छ।
नगरपालिका भित्रका १, ४, ५, ६, ९, १० र १२ नं वडामा सङ्घीय सरकारको सहयोगमा नयाँ सुविधायुक्त भवन निर्माण कार्यसमेत शुरु गरिएको छ। सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि नयाँ भवनसहित स्वास्थ्यकर्मी नियुक्तिको काम शुरु गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment