किसुनजीले सोध्नु भो-म कुन शक्तिको प्रेरणाले सोह्र बर्षसम्म जेल बस्न सके हुलाँ?

डिसी नेपाल
७ पुष २०७६ १२:१८

हामी एक/दुई उपवाद बाहेक कोइइराला परिवारकै सदस्यहरूबाट कोठा भरिएको थियो। यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो। यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोइराला यसलाई आफ्नो निजी कोठा बनाउनु भएको थियो।

किसुनजीको व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन। सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भूँईमा बस्नु भएको थियो। कोइराला बर्चस्वको पारिवारिक माहौलमा किसुनजीको बज्रासन बसाईले उहाँलाई एउटै सतहमा बसेकाहरू मध्ये सबैभन्दा अग्लो बनाएको थियो।

गिरिजाबाबु त्यहाँ हुनुहुन्थेन। बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि देशको शक्तिशाली प्रधानमंत्रीको रूपमा किसुनजी पहिलो पटक बिराटनगर कोइराला निवास पुग्नु भएको थियो। नोना कोइरालालाई उहाँले सधैं नोनाजी भनी सम्बोधन गर्नुहुन्थ्यो। उ बेलासम्म गिरिजा बाबु प्रधानमन्त्रीको दाबेदार हुने कुरै थिएन। अन्तरिम सरकार थियो।

संबिधान नै आएको थिएन। निर्वाचन नै भएको थिएन। यस बेला किसुनजी सबै काँग्रेसजनका आखाँका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो। उहाँको स्वागतमा नोना कोइरालाको खुट्टा भूँईमा थिएन। दुश्मनलाई पनि घरमा माया गर्ने कोइरालाहरूका सामु त्यस बेला सबैभन्दा प्रिय पात्र जो थिए।

फेरि किसुनजी नोनाको लागि नेता मात्र थिएनन् राम नगरकी छोरी नोनाका लागि किसुनजी पारिवारिक पुरोहितका बंशज थिए, जो प्रजातन्त्र स्थापनाको लडाईमा कोइरालाहरूको इगो सफल भएको प्रतिकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो।

हामी मस्का भन्छौं नि, मस्का लगाउने! किसुनजी नोनालाई मस्का लगाउँदै हुनुहुन्थ्यो। हामी तिर हेर्दै भन्नु भो– बुझ्नु भो, म जेलमा हुँदा सधैं नोनाजी को हातबाट बनेको खाना सम्झेर बस्थे।’ सात सालमा बिराटनगर मजदुर हडतालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोइराला परिवारका महिला समेत नौ जनालाई बिराटनगरबाट अड्डासार गरेर काठमाडौं पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका बीरांगना भन्दै हुनुहुन्थ्यो।

राममणि आचार्य दीक्षित जस्ता उ बेलाको प्रशासकहरू आउँथे, सादा कागज छोडेर जान्थे। किसुनजी मनमा जे आउँछ, चार लाइन लेखेर दिनोस्। जेलबाट रिहा हुनोस् र गर्नुस राजनीति भन्थे।

नोनाले पस्कनु भएकी रेड लेबल ह्वीस्कीका केही पेगपछि किसुनजी अचानक गंभीर हुनुभयो। विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुँदै गयो। बद्रि बस्नेत, अशोक कोइराला, हरि सापकोटा, रमेश घिमिरे, उमेश गिरी, वशन्त भट्टराई, नगेन्द्र ढुंगेल हामीहरू थियौं। यिनै जमाततर्फ हेर्दै किसुनजीले सोध्नु भो, ल भन्नुस् म कुन शक्तिको प्रेरणाले सोह्र बर्षसम्म जेल बस्न सके हुलाँ? यो सबैका लागि समस्या खडा गर्ने जिज्ञासा थियो। संसारिकतामा नफसेको, आध्यात्मका उपासक, चरित्रका हठी, स्वभावका रमाइलो र व्यवहारका कुशाग्र (यो र यो भन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञान गुणका किसुनजी यत्रो वर्ष कुन प्रेरणाले जेल बस्नु भो यो भन्ने सामथ्र्य त्यहाँ कसैमा थिएन।

‘शक्तिमा मानिस देवत्व देख्छ। राजालाई त हामीले अवतार नै मान्यौं। राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालीन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे। हिन्दूहरूको सबैभन्दा लामो पूजाआजा त शक्ति पीठहरू मै हुन्छ। शक्तिका अगाडि सँगै जेलमा रहेका श्रीभद्र शर्मा, रूद्रप्रसाद गिरीहरू टिक्न सकेनन्। म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र?’

किसुनजीमा जीवनका तत्व वोधहरूले ठाँउ ओगट्दै गएको थियो। हामी सब मौन रहेर, किसुनजीका कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भै सकेका थियौं। अर्थशास्त्रीका बारेमा भन्छन नि! चार जना घाघरान अर्थशास्त्रीका बीच बसेका पाचौं अज्ञानी त्यतिञ्जेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका बारेमा बोल्दैनन्। किसुनजीका सामुन्ने हामी त्यस्तै भएका थियौं। म त निश्चय नै।

जयप्रकाशप्रसाद गुप्ता

तर, ससाना कुरामा रिसाउने, असन्तुष्ट भैरहने, हर बखत आफू मै पुरूषार्थ देख्ने हामी जस्ताका लागि भने यो गह्रुंगो सवाल थियो कि कुन प्रेरणाले किसुनजी यत्रो लामो समयसम्म अविचलित रूपमा, अडिग भै जेलमा बस्न सक्नु भयो!

उहाँ भन्दै हुनुहुन्थ्योस नोनाजी, राममणि आचार्य दीक्षित जस्ता उ बेलाको प्रशासकहरू आउँथे, सादा कागज छोडेर जान्थे। किसुनजी मनमा जे आउँछ, चार लाइन लेखेर दिनोस्। जेलबाट रिहा हुनोस् र गर्नुस राजनीति भन्थे। धेरैले यसो गरेका पनि थिए। कतिपय पटक आफू गलेके र भोलि बिहानै छुट्ने बाटोमा बढने प्रबल इच्छा बन्ने गरेको निश्चयी भएर राती सुत्ने गरेको सुनाउनु भयो। तर, बिहान बिषम् अवस्थामा प्रति दिन बिताउने गरेका साथी भाइहरूको प्रतिबद्धताबाट आफूले ती कुराहरूलाई बिर्सने गरेको सुनाउनु भयो।

‘धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन्। होइन, प्रारब्ध भनेको आन्तरिक दृढता हो। अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ। यही प्रारब्धले बाह्य परिणाम दिन्छ। प्रतिकूलतासँग लड्ने क्षमता दिन्छ। यही क्षमता मैले जेलमा आर्जन गरे र म यत्रो लामो समयसम्म टिक्न सके..!’ किसुनजीले कमसे कम मलाइ त यन्त्रवत् श्रोता बनाउनु भएको थियो त्यस दिनको राति। ह्वीस्की फिका भएको थियो। जीवनमा अमिट रंगहरू थपिएको थियो। मध्य रात्रीसम्म सम्झेर लेखी ती कुराहरू लेखी बसें।

उहाँले नोना आमा तिर उन्मुख हुदै भन्नु भयो– नोनाजी यही त्यो कुरा हो जो तपाईँको कूल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो।’ मैले राम्ररी ठ्म्याएको थिए, नोना आमाको अनुहार किसुनजीको प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो। म आज सम्झिन्छु, नेपालको राजनीतिमा थोरै समय भित्र सब कुछ कसरी फेरियो। राजनीतिको ध्येय पनि, औचित्य र परिभाषा पनि।

जयप्रकाशप्रसाद गुप्ताकाे फेसबुकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *