दिल्लीमा सम्पन्न ‘अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसिप’ को उपाधी युएमओएनलाई

डिसी नेपाल
७ पुष २०७६ १६:५३

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा प्रथम ‘अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसिप – २०१९’ सम्पन्न भएको छ ।

गएकाे  डिसेम्बर १९ तारिखदेखि तीन दिन सम्म चलेको टि–२० क्रिकेट प्रतियोगिता विनय मार्ग स्पोर्ट कम्प्लेक्स्, विनय मार्ग, चानक्यपुरी, नयाँ दिल्लीमा आयोजना गरिएको थियो ।

जम्मा आठ टिम सहभागी खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउदै युनाइटेड मधेसी नेपाल–ग्लाइडेटर (युएमओएन) ले उपाधी जीतेको छ ।  त्यस्तै फाइनलमा ६९ रनले पछि परेको साउथ एसियन युनिभर्सिटीको टिम रनरअप भएको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको साउथ एसियन युनिभर्सिटी क्रिकेट क्लबलाई पहिले ब्याटिङ गर्दै युनाइटेड मधेसी आफ नेपाल–ग्लाइडेटर टिमले ९ विकेटको नोक्सानमा २० ओभर खेल्दै १ सय ५१ रन बनाएको थियो ।

१ सय ५२ रनको लक्ष्य पछ्याएको साउथ एसियन युनिभर्सिटी क्रिकेट क्लबले सबै विकेटको गुमाएर २० ओभरमा मात्र ८३ रन बनायो। युएमओएनले ६९ रनले शानदार जित हासिल गर्दै पहिलो ‘मदन भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट च्याम्पियनसिप २०१९’ को कप हात पार्न सफल भएको हो।

युएमओएनका राजन पटेलले म्यान अफ दि म्याचको उपाधि हात पार्न सफल भएका थिए । साथै पटेल उत्कृष्ट खेलको प्रदर्शन गर्दै म्यान अफ दि सिरिज पनि बन्न सफल भए। खेलमा ४ छक्का हान्दै युएमओएन टिमका युवराज मोर सीक्सरमा बने । त्यस्तै नेपाली क्रिकेट टिमले फेअर प्लेको ट्रफी हासिल गरेको थियो।

खेलमा नेपाली क्रिकेट क्लब, राइजिङ स्टार क्रिकेट क्लब, युनाइटेड मधेसी आफ नेपाल–ग्लाइडेटर, अखिल क्रान्तिकारी क्रिकेट क्लब, राष्ट्रिय विद्यार्थी संघ क्रिकेट क्लब, साउथ एसियन युनिभर्सिटी क्रिकेट क्लब, शारदा युनिभर्सिटी क्रिकेट क्लब र रमाइलो क्रिकेट क्लब गरि जम्मा आठ टिम सहभागी भएका थिए।

प्रतियोगिताको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उद्घाटन गरेका थिए । फाइनल खेलमा नेपाली राजदूतावासका पोलीटिकल काउन्सिलर हरि प्रसाद ओडारी र कल्चरल काउन्सिलर होम प्रसाद लुइँटेल प्रवास इन्चार्ज गोपाल थापा र साउथ एसियन युनिवर्सिटीका प्रोफेसर डाक्टर युबराज पोखेरल बिशिष्ट अथिति रहेका थिए ।

त्यस्तै कार्यक्रममा प्रवासी नेपाली संघ भारत केन्द्रिय उपाध्यक्ष सिता अधिकारी, प्रभु बैंक भारत प्रतिनिधि सुनिल मिश्र, उद्योगपति सुनिल गुप्ता, एकडेमीका सल्लाहकार छबिलाल जोशी लगायत दर्जनौ संघ संस्थाका प्रतिनिधिहरुलगायत खेलप्रेमीनेपालीहरुको उपस्थिति रहेको थियो ।

एकेडमीका खेल संयोजक राज ढकाल, सीए सुवास भट्ट र नविन नेपालको सहसंयोजकत्वमा खेल सम्पन्न गरिएको हो । संयोजक ढकालले स्वागत मन्तब्यद्वारा अतिथिहरु, खेलाडीहरु र आम शुभचिन्तकहरुलाइ स्वागत गरेका थिए।

मदन भण्डारी स्पोर्ट एकेडमी भारत प्रवास इन्चार्ज गोपाल थापाले खेलमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रम एकेडमीका भारत प्रेस संयोजक सुवास बस्नेतको सञ्चालन तथा उपाध्यक्ष कुल बहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा  भ्रमण वर्ष–२०२० को लोगोलाइ खेलाडीहरूका ड्रेस, ब्यानर र पोस्टरमा समेत छपाएर विशेष महत्वका साथ प्रचार प्रसार गरिएको थियो।

प्रतियेगिताका विजेताहरुलाई आगामी वर्ष एक विशेष कार्यक्रमकाे आयोजना गरि नेपाल राष्ट्रिय खेलकुद परिषदका सचिव तथा मदन भण्डारी स्पोर्ट एकेडमीका संस्थापक रमेश शिलवालको उपस्तिथीमा पुरस्कार वितरण गरिने एकेडमीले जनाएको छ ।

मदन भण्डारी फाउन्डेसन अन्तर्गत सञ्चालित मदन भण्डारी स्पोर्ट एकेडेमी नेपालले छिमेकी राष्ट्र भारतमा वैधानिकता पाएसँगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आएको छ ।

खेल प्रति अभिरुची भएका तर खेल्ने वातावरणबाट बञ्चित प्रवासी खेलप्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र सहज खेल वातावरणको सिर्जना गर्ने उद्देश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भण्डारी स्पोर्ट एकेडेमी भारतकाे स्थापना गरिएको हो ।

खेल र खेलाडीहरूको लागि उच्च सम्मान गर्दै आफ्नो खेल सञ्चालनले छोटो समयमा नै धेरै उपलब्धिहरू हासिल गरिरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरूसँग पनि इन्डो नेपाल मैत्रीपूर्ण खेलहरू सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भण्डारी स्पोर्ट एकेडेमी इन्डिया आधिकारिक खेल संस्थाको रुपमा  स्थापित भएको हो ।

मदन भण्डारी स्पोर्ट एकेडेमी इन्डियाले इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पूर्व तयारी स्वरुप आफ्नो पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसिप २०१९’को आयोजना गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *