माफी मागेपछि डिस्को जाने खेलाडीको निलम्बन कटौती

डिसी नेपाल
८ पुष २०७६ १५:०७

काठमाडौं। मध्यरातमा डिस्कोमा भेटिएपछि निलम्बनमा परेका चार नेपाली फुटबल खेलाडीको निलम्बन कटौती गरिएको छ । खेलाडीहरुले आफूहरुमाथि गरिएको कारवाही घटाउन अखिल नेपाल फुटबल संघ (एन्फा)मा निवेदन दिएका थिए । एन्फाको अनुशासनकमिटीले उनीहरुको निलम्बन परिमार्जन गरेको हो ।

यसअघि एन्फाको यही डिसेम्बर १३ मा बसेको एन्फाको अनुशासन कमिटीको बैठकले डिसेम्बर १३ देखि नै लागू हुने गरी अन्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिन तथा बिमल घर्तीमगर र दिनेश राजवंशीलाई ९० दिनका लागि निलम्बन गरेको थियो । त्यसपछि खेलाडीले गरेको अपिलको आधारमा आज बसेको अनुशासन कमिटीको बैठकले निलम्बनको अवधि परिमार्जन गरेको हो ।

अब यी चारै जना खेलाडीमाथि लगाइएको निलम्बन नोभेम्बर १६ देखि लागू भएको मानिनेछ । अन्य सजाय भने यथावत रहेको एन्फाले जनाएको छ । एन्फाको अनुशासन कमिटीले कुवेतविरुद्ध हुने फिफा विश्वकप छनोटको बन्द प्रशिक्षणका क्रममा यी खेलाडीहरुको गैरजिम्मेवार क्रियाकलापबारे जाँच गर्न अनुसन्धान कमिटी गठन गरिएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *