सूर्य ग्रहणको प्रभाव : नेपाल, भारत र खाडी मुलुकका लागि खतरा, अमेरिकालाई छुँदैन

डिसी नेपाल
९ पुष २०७६ ६:५२

भर्जिनिया, अमेरिका । डिसेम्बर २६ तारिकका दिन विहिबार रिङ्ग आकारको सूर्य ग्रहण लाग्दैछ जुन ब्रम्हाण्डमा खगोलीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको छ । ग्रहणलाई भौतिक विज्ञानका अनुयायीहरु यथास्थानमा हुने सामान्य प्रक्रियाका रुपमा लिन्छन् । हामी अध्यात्मवादीहरु भने यसलाई विशेषरुपमा लिने गर्दछौं । सूर्य र चन्द्र दुई प्रकारका ग्रहण हुन्छन् । सूर्य ग्रहण केवल दिनमा लाग्दछ । चन्द्र ग्रहण भने सूर्य अस्त पहिलादेखि सूर्य उदय भएसम्म पनि लाग्न सक्दछ । यो छोटो आलेखमा हामी डिसेम्बर २६ का दिन लाग्ने सूर्य ग्रहण र यसले संसारभर पार्ने असरबारे चर्चा गरेको छु ।

यसपालिको सूर्य ग्रहण असाध्यै खराब छ । दक्षिण एशियाली मुलुकमात्रै नभएर अष्ट्रेलिया, अन्डमान निकोवारको द्धिपसमूह नै, बहराइन,बरुनी, कम्बोडिाया,चीन, क्रिसमस द्धिप,कसोद्धिप, पूर्वी टिमोर, इथियोपिया, कालिकट, इण्डोनेशिया, जापान, काजकास्थान,केन्या, उत्तर र दक्षिण कोरिया, किर्गिस्तान, लाओस, मलेसिया, मंगोलिया, म्यान्मार, ओमान, फिलिपिन्स, कतार, रुस, साउदी अरब, सिंगापुर, सोमालिया, श्रीलंका, ताइवान, तान्जानिया,थाइल्याण्ड, संयुक्त अरब, उज्वेकिस्तान, भियतनाम, यमनलगायतका देशहरुमा ग्रहणको प्रभाव पर्छ । विशेषत नेपाल र भारतका सन्दर्भमा दक्षिण भरतका केही शहरहरुमा पूर्ण सूर्य ग्रहण छ । नेपालमा आंशिक ग्रहण छ तर प्रभाव भने लामो देखिन्छ ।

डा. रघुनाथ अर्याल

यसबर्षको सूर्य ग्रहण मूल नक्षत्रको धनु राशीमा भएकोले व्यक्तिगतरुपमा बृष,कन्या राशीलाई अलि दुख हुनेछ, मेष, मिथुन र बृश्चिक राशीलाई राम्रो छ । यो व्यक्तिगत राशीको कुरा भयो । देशगत दृष्टिले यो ग्रहणले पार्ने प्रभावको कुरा गर्दा दक्षिण एशियाको राजनीतिक क्षेत्रमा यसले निकै असर गर्दछ । दक्षिण पश्चिम एशियाली देशमा धनजनको क्षति र अन्य प्राकृतिक प्रकोप, भूस्खलनजस्ता प्रकृतिक विपत्ति आइलाग्न सक्छ । अन्य क्षेत्रमा पनि यो ग्रहणको प्रभाव राम्रो छैन । ग्रहणको फल गत मंसीर शुक्ल पूर्णिमादेखि, ग्रहण लागेको एकमहिनासम्म अर्थात् आगामी माघ कृष्ण औसीसम्म रहन्छ ।

देश विशेषको कुरा भन्नुभन्दा पनि समष्टिरुपमा युरोपका केही मुलुकहरुमा पनि क्षतिको सम्भावना प्रबल छ । प्राकृतिक प्रकोप र दैबी विपत्ति, दुर्घटनाका घटनाहरु बढ्ने देखिन्छ । मध्यपूर्व एशियामा आतंकवादले धेरै प्रभाव पार्न सक्नेछ । ग्रह गणीतीय दृष्टिले ग्रहण लागेका र प्रभाव पर्ने देशहरुमा पूर्णतया माघको औसीसम्म क्षति नै गराउने छ ।

ग्रहणको दुष्परिणामका कारण कुनै घटना घट्नुभन्दा पहिले आ-आफ्नो दर्शन र धर्म शास्त्रअनुसार, वेद, बाइबल, कुरान वा जे छ सोअनुसार, आ आफ्नै देवी देवताको आरधना गर्नु उपयुक्त हुन्छ ।

अमेरिका र यो आसपासका क्षेत्र जस्तै क्यानडा र मेक्सिकोजस्ता देशहरुमा सूर्य ग्रहण लाग्दैन र यहंका बासिन्दाले बार्नु पनि पर्दैन । नेपालका सन्दर्भमा राजनीतिक अस्थिरता बढ्ने, सरकारमा किचलो आउने, उच्च ओहदाका सुरक्षा निकायका व्यक्तिहरुमा क्षतिको सम्भावना, धनको क्षति र उच्च ओहदाका व्यक्ति गुमाउनु पर्नेजस्ता खतराहरुको सामना गर्नु पर्ने हुनसक्छ । ग्रह र गणितका दृष्टिले नेपालको छिमेकी मुलुक भारतमा यसको असर १५ दिनसम्म मात्र नकारात्मक रहने देखिन्छ तर १५ दिनपछि भने भारतमा देखिएका हालका समस्याहरु समाधान हुंदै जान्छन् । सूर्य ग्रहणको प्रभावले हालको भारतको सरकारलाई अर्को चुनावसम्म पनि सुफल दिन सक्ने र विजय हुन सक्ने फल प्राप्त हुने देखिन्छ ।

ग्रहणका बारेमा धर्म शास्त्रहरुले विभिन्न महत्व बताएका छन् । गणितीय अर्थात् सिद्दान्त ज्योतिषले खगोलीय परिदृश्यलाई मात्र हेर्दैन उसंग फलित ज्योतिष पनि हुन्छ । हाम्रा प्रातस्मरणीय ऋषि महर्षिहरुले ग्रह गणितका आधार ग्रह, ग्रहण र त्यसका प्रभावका बारेमा विभिन्न प्रकारका धारणाहरु व्यक्त गरेको पाइन्छ । विशेषत धर्म शास्त्रले ग्रहण लागेको बेलामा जप, दान पाठ—पूजा, तीर्थ, पुण्य क्षेत्र, नदी, नदीको संगम अथावा जलासय जहाँ पनि स्नान दान गर्नाले धेरै फल पाइन्छ भनेर लेखेको छ ।

मन्त्र सिद्धिका लागि यो समय उपयुक्त भनेको छ । अरु समयभन्दा यो बेलामा गरेको दानले अधिक फल दिने शास्त्रीय मान्यता छ । धर्म शास्त्रकै आधारमा ग्रहण लाग्नु पूर्व ग्रहणको सुतक लाग्दछ । यज्ञ यज्ञादिको लागि तीनदिनपूर्व नै निषेध गरिएको हुन्छ । बालक बृद्ध, रोगीबाहेकलाई भोजनादि पनि निषेध भनिएको छ तर समय सापेक्ष उचित गर्नलाई नै उपयक्त होला । यी धर्म शास्त्रीय मान्यताहरु हुन् । सुतक बार्नेबारे पनि भिन्न मत छन् ।
कसैले १२ घण्टा, कसैले ८ घण्टा त कसैले जम्मा ४८ मिनेटसम्मको सुतक बार्न सकिने मतहरु धर्म शास्त्रमा उल्लेख छन् ।

(डा. रघुनाथ अर्याल, ज्योतिष तथा योगतन्त्रका विज्ञ हुन् । उनी हाल अमेरिकाको भर्जिनियामा बस्छन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *