युवा विद्यार्थीमा समाज परिर्वतनको सङ्कल्प हुनुपर्दछ : नेता नेपाल
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले युवा विद्यार्थी देशको भविष्यको कर्णाधार भएकाले उनीहरुमा समाज परिर्वतनको सङ्कल्प हुनुपर्ने बताएका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पोखराको पृथ्वीनारायण क्याम्पसमा बिहिबार नवआगन्तुक विद्यार्थीहरुको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रमा उनले विद्यार्थीले व्यक्तित्व विकास गर्दै समाज परिर्वतन गर्ने दृढता र सङ्कल्प राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
नेता नेपालले भने, “विद्यार्थी नेता बनेर पदको दुरुपयोग गर्ने र पैसाको बार्गेनिङ गर्ने होइन, समाजलाई माथि उठाउन र सबैलाई सहयोग गर्ने भावनाबाट आगाडि बढ्नुपर्दछ । ज्ञानको क्षितिजलाई फराकिलो बनाउनुपर्छ ।”
समाजमा अहिले सबैतिर नकारात्मकता र निराशामात्र हाबी रहेको चर्चा गर्दै उनले बढी निराश बन्ने व्यक्ति मानसिक समस्याको शिकार हुने भएकाले विद्यार्थीले आशावादी र चुनौतीको सामना गर्ने आट र साहसका साथ केही गरेर देखाउँछु भन्ने भावना राख्नुपर्ने सुझाव दिए ।
नेता नेपालले कम्युनिष्ट पार्टीमा आस्था राख्ने विद्यार्थी मेहनती, इमान्दार, सफल, सबैको प्यारो र मुस्कानसहितको व्यवहार गर्ने हुनुपर्नेमा जोड दिदैं नेपाली जनताले कम्युनिष्ट पार्टीलाई मन पराएर साथ दिँदै आएकाले पार्टी लोकप्रिय भएको बताए।
अनेरास्ववियुका केन्द्रीय नेता रश्मी आचार्य, क्षितिज सापकोटा, जिल्ला अध्यक्ष विवेक देवकोटा, क्याम्पस इकाइका सभापति राजन शर्मा पराजुलीलगायतले विद्यार्थीको हकअधिकारका विविध पक्षमाथि प्रकाश पारे ।
कार्यक्रममा कलाकारहरुले साङ्गीतिक प्रस्तुति गर्नुका साथै क्याम्पसका उत्कृष्ट प्राध्यापक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment