पोखरा महानगरको वार्षिक प्रगति समीक्षा सुरु, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

डिसी नेपाल
२१ साउन २०८३ १९:५२

काठमाडौं। पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सुरु गरेको छ। पहिलो दिन बिहीबार वडा कार्यालयहरूको वार्षिक प्रगतिको समीक्षा गरिएको छ भने शुक्रबार महानगरका विभिन्न महाशाखाहरूको प्रगति समीक्षा गरिनेछ।

समीक्षा कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले नागरिक सेवालाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउँदै विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउन वडा सचिवहरूलाई निर्देशन दिए। वडा कार्यालयहरू नागरिकसँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका निकाय भएकाले सेवा प्रवाहमा प्रभावकारिता, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालयको सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै सुशासन प्रवर्द्धन र परिणाममुखी कार्यसम्पादनमा जोड दिइन्। स्थानीय सरकारले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जयराम पौडेलले प्रभावकारी सेवा प्रवाहमा जोड दिए भने नेपाली कांग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्गले समृद्ध महानगर निर्माणका लागि नागरिक सेवा, विकास निर्माण र मानव संसाधन विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

वडा अध्यक्षहरूको सहभागिता रहेको कार्यक्रममा विभिन्न वडा सचिवहरूले आर्थिक वर्ष २०८२/०८३ मा भएका विकास निर्माण, सेवा प्रवाह, प्रशासनिक कार्य तथा अन्य कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा उपलब्धि, समस्या र आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *