रुसमा छुट्टै इन्टरनेटको सफल परीक्षण

डिसी नेपाल
११ पुष २०७६ १७:४७

जेन वेकफील्ड

बीबीसी । रुसले देशभर वैकल्पिक इन्टरनेटको सफल परीक्षण गरेको सरकारी अधिकारीहरूले बताएका छन्।

विश्वभर चलेको इन्टरनेटमा स्वतन्त्ररूपले नजोडिएको रुसी इन्टरनेटको परीक्षणको विवरण स्पष्ट छैन तर त्यहाँको सञ्चार मन्त्रालयले सामान्य प्रयोगकर्ताले कुनै फरक नपाएको बताएको छ।

परीक्षणको नतिजा अब राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गर्ने बताइएको छ। यस्तो राष्ट्रिय इन्टरनेटमा विश्वव्यापी इन्टरनेटका केही वा सबै सेवा वा वेबसाइटहरू माथिको पहुँच नियन्त्रण गर्न सकिन्छ। विज्ञहरूले भने केही देशहरूले यस्तो प्रविधि प्रयोग गरेर इन्टरनेटलाई ध्वस्त पार्ने चिन्ता व्यक्त गरेका छन्।

‘दुर्भाग्य रुसले गरेको परीक्षण इन्टरनेटलाई तोड्ने बाटोमा एउटा कदम हो,’ सरे विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक प्राध्यापक एलान उडवर्ठले भन्छन्, ‘चीन र इरान हिँडेको बाटोमा आफ्ना नागरिकले के हेर्छन भन्ने कुरा नियन्त्रण गर्न चाहने निरङ्कुश सरकारहरू हिँड्नेछन्।’

यो प्रविधि रुसी इन्टरनेटले विश्वव्यापी इन्टरनेटसँगको जोडिने स्थानमा नियन्त्रण गर्ने हो जसले सरकारलाई नागरिकहरूले इन्टरनेटमा के–के हेर्न सक्छन् भन्ने कुरामा नियन्त्रण राख्न सहज बनाउँछ।

‘यसको अर्थ देशभर रहेका इन्टरनेट सेवा प्रदायक र मोबाइल कम्पनीहरूलाई देशभित्रकै सञ्जालमा मात्रै जोडिन दिने हो,’ प्राध्यापक उडवर्ठले बताए।

सामान्यतया इन्टरनेट सेवा समुद्रमुनिको तार वा स्याटेलाइटमार्फत् डेटा आदानप्रदान हुने नोड बाट प्राप्त हुन्छ। राष्ट्रिय इन्टरनेट चलाउन भने त्यस्ता नोडहरूलाई बन्द वा नियन्त्रण गर्नुपर्छ।

यसका लागि सबै स्वदेशी इन्टरनेट सेवा प्रदायकहरूको सहयोग आवश्यक पर्छ। त्यसैले जति थोरै प्रदायकहरू भए उति सजिलो हुन्छ। त्यसपछि रुसले आफ्नो देशभित्रका लागि वैकल्पिक इन्टरनेट निर्माण गर्नु पर्नेछ।

इरानमा न्याश्नल इन्फर्मेशन नेटवर्कले कुनै सेवामा रोक लगाउँछ भने कुनैमा पहुँच दिन्छ तर इन्टरनेटमा प्रयोगकर्ताले गर्ने सबै गतिविधिलाई निरीक्षण र नियन्त्रण गर्न सक्छन्। यसलाई इरानको सरकारी दूरसञ्चार कम्पनीले सञ्चालन गर्छ।

यसको फाइदा भनेको इन्टरनेटमा प्रतिबन्धित सेवाहरूमाथि पहुँच बनाउन प्रयोग गरिने भर्चुअल प्राइभेट नेटवर्कले पनि काम गर्दैन। अर्को उदाहरण चीनले प्रयोग गर्ने ग्रेट फायरवाल अफ चाइना हो। यसले केही विदेशी सेवाहरूमा प्रतिबन्ध लगाएका कारण स्वदेशी प्रविधि कम्पनीहरूले आफूलाई स्थापित गर्न सहज भएको छ।

रुसमा यान्डेक्स र मेल डट रु सफल छन् तर रुसी इन्टरनेटमा अरू स्थानीय कम्पनीहरू पनि सफल हुन सक्छन्। रुसको आफ्नै विकिपिडियाको योजना छ र रुसी एप नभएका स्मार्टफोनहरूको बिक्रीमा प्रतिबन्ध लगाउने कानुन पारित भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *