के अर्को ग्रहबाट प्राणीहरु पृथ्वीमा आउन सक्छन् ? के भन्छन् बैज्ञानिकहरु ?

डिसी नेपाल
१२ पुष २०७६ १३:१६

टेक्सस, अमेरिका । ब्रम्हाण्डका बारेमा हालसम्मका अनुसन्धानहरुको अनुमान छ कि ब्रम्हाण्डमा सयौं अरब आकाशगंगाहरू छन्, सयौं अरब ताराहरू छन् , एउटा आकाशगंगामा मात्र १ ट्रिलियन भन्दा बढी ग्रहहरू छन् । यो अनुमान गर्न सकिन्छ कि यस ब्रम्हाण्डका केही ग्रहहरूले पृथ्वीमा हामीले जस्तै जीवनको विकास गरेका होलान् । यदि हामी मात्र आकाशगंगामा र ब्रम्हाण्डमा केवल बौद्धिक प्राणीहरू हौं भने यो वास्तवमै आश्चर्यजनक कुरा हुनेछ र विभिन्न धर्म ग्रन्थमा उल्लेख भएजस्तै हामीलाई भगवानले नै श्रृष्टि गरेको हुनुपर्छ । तर, के हामी एक्लो छौं यो ब्रह्माण्डमा ? के मानिस विशाल ब्रम्हाण्डमा अद्वितीय र एक्लो छ ? के पृथ्वी मात्र जीवन धान्न सक्ने ग्रह हो ?

गत केही दशकमा करोडौं ग्रहहरू पत्ता लगाइए । सौर्यमण्डलको यति विशाल र विविध सेटहरूमा मानिस एकमात्र बुद्धिमान जीवन नहुन सक्छ । मानिसहरूले ताराहरूतर्फ उनीहरूको आँखा फर्काए र अनुसन्धान गर्न थाले । त्यहाँ अरू कोही मानिस जस्तै बुद्दिमान प्राणी छन् कि भनेर सोच्न थाले ।

डा.पर्शुराम दाहाल

आकाशगंगाहरुमा भएका ट्रिलियन ग्रहहरू मध्ये केही ग्रहहरुमा पृथ्वीमा जस्तै उन्नत सभ्यता छ कि भनेर अनुसन्धान गर्न थाले । यी अनुसन्धानहरुले आश्चर्यजनक परिणामहरु दिएका छन् ।

जस्तै – कुनै पनि ग्रहमा प्राणीलाई अत्यन्त आवश्यक पर्ने पहिलो चीज तरल पदार्थ अर्थात् पानी हो । पानी पृथ्वीमा मात्र छ भन्ने कुरा भ्रम प्रमाणित भइसकेको छ । नासाका बैज्ञानिकहरुले धेरै ग्रहहरू र उपग्रहहरूमा पानी भएको प्रमाण भेटिसकेका छन् ।

मंगल ग्रह र बृहस्पति ग्रहमा पानी भएको प्रमाण भेटिएको छ । युरोपामा तरल पदार्थ अर्थात् पानी भएको अनुमान गरिएको छ ।

युरोपा बृहस्पति ग्रह परिक्रमा गर्ने उसको सबैभन्दा सानो चन्द्रमा हो । त्यसैगरी टाइटन शनि ग्रहको सबैभन्दा ठूलो चन्द्रमा हो । यस चन्द्रमामा अमोनियाले भरिपूर्ण तरल पानीको तह भएको अनुमान गरिएको छ ।

हाम्रो सूर्य मण्डलभन्दा बाहिर पनि धरै ग्रहहरुमा पानी र जीवहरु भएको अनुमान गरिएको छ । ग्लाइस ५८१ जी नामको ग्रह जुन पृथ्वीभन्दा २० प्रकाशवर्ष टाढा अवस्थित छ, यहां पनि पानी रहेको र यसैकारण सो ग्रहमा प्राणीहरु अस्तित्वमा रहेको बैज्ञानिकहरुले अनुमान गरेका छन् । यो ग्रह पृथ्वीभन्दा दुईदेखि तीन गुणा विशाल भएको अनुमान गरिएको छ । १ प्रकाश वर्ष भनेको प्रकाशले १ वर्षमा पार गर्ने दुरी हो । १ प्रकाशवर्ष भनेको लगभग ९४६,०००,०००,०००० किलोमिटर हो ।

केप्लर—२२ बी नामको अर्को ग्रह पृथ्वीबाट ६०० प्रकाशवर्ष टाढा अवस्थित छ । यो ग्रह पृथ्वीभन्दा तीनगुणा विशाल भएको अनुमान गरिएको छ र यस ग्रहमा तरल पानी भएको अनुमान गरिएको छ । यो ग्रहमा पनि जीवहरु अस्तित्वमा हुनसक्ने अनुमान गरिएको छ । एचडी ८५५१२ बी नामको अर्को ग्रह पृथ्वीबाट ३५ प्रकाशवर्ष टाढा अवस्थित छ । यो ग्रह पृथ्वीभन्दा चारगुणा ठुलो भएको अनुमान गरिएको छ ।

यो ग्रहमा पनि जीवहरु अस्तित्वमा हुन सक्ने बैज्ञानिकहरुको अनुमान छ । यसका अलावा पानी र तरल पदार्थ तथा जीवहरु भएका एकहजारभन्दा बढी त्यस्ता ग्रहहरु पत्ता लागेका छन् । बैज्ञानिकहरुको यो अनुसन्धानले पृथ्वीमा भएका हामीमात्रै एक्ला प्राणी होइनौं भन्ने देखाइसकेको छ । बैज्ञानिकहरुले त अझ यो अनुमान गरेका छन् कि पृथ्वीका हामी मानिसभन्दा बौद्धिक र उन्नत सभ्यता भएका प्राणीहरू यो ब्रम्हाण्डमा छन् ।

प्रसिद्ध खगोल वैज्ञानिक एवं भौतिकशास्त्री स्टेफेन हकिङ्गले ब्रम्हाण्डमा बौद्धिक सभ्यता भएका प्राणीहरू हुन सक्ने अनुमान गरे र यस्ता उन्नत र परिष्कृत टेक्नोलोजिकल क्षमता भएका प्राणीहरूले पृथ्वीको भ्रमण गर्न सक्षम हुने भएकोले यिनीहरुले हाम्रो मानवतालाई नष्ट गर्ने प्रयास गर्ने छन् भन्ने भविष्यवाणी पनि गरेका छन् । उनले आफ्नो संस्कृति, सभ्यता र समाजको स्थापना गर्न पृथ्वीमा पनि प्रयास गर्न सक्ने अनुमान गरे ।

जसरी मानिसहरुले पृथ्वीमा कम क्षमताभएका कबिलाहरूको बस्ती र अन्य बनमा बस्ने प्राणीको बस्ती नष्ट गरेका छन् त्यसरी नै अर्को ग्रहबाट पृथ्वीमा आउने बौद्धिक प्राणीहरुले हामीलाई नष्ट गर्ने प्रयास गर्ने छन् भन्ने उनको अनुमान छ । जसरी कम क्षमता भएका वा कमजोर मानवीय सभ्यता र संस्कृति भएका मानव जातिप्रति दुर्व्यवहारको एउटा भयानक नरसंहारको इतिहास पृथ्वीमा छ त्यसैगरी अन्य ग्रहबाट आउने बढी बौद्धिक प्राणीले हामीमाथि आक्रमण नगर्लान् भन्न सकिन्न भन्ने उनको निष्कर्ष छ ।

अर्को ग्रहबाट आउने अधिक बौद्धिक र उन्नत सभ्यता भएका प्राणीहरू संगको सम्पर्कलाई हानिकारक र लाभदायक गरी दुई व्यापक भागहरुमा विभाजन गरी अध्ययनको प्रयास गरिने भएको छ । स्टेफेन हकिङ्गले अनुमान गरे जस्तै हुने हो भने पृथ्वीमा मानव जाति नै नष्ट हुने छ र अर्को ग्रहबाट आएका अधिक बौद्धिक र उन्नत सभ्यता भएका प्राणीहरू संगको सम्पर्क गर्ने बैज्ञानिक प्रयास हानिकारक हुने छ । तिनीहरु पृथ्वीमा यहाँको स्रोत साधन प्रयोग गर्न , मानब जातिलाई गुलाम बनाउन वा हमला गर्न आउन सक्छन् ।

तिनीहरुले आफ्नो सभ्यतालाई बचाउन मानवतालाई नष्ट गर्न सक्छन् । तर अध्ययनको अर्को पाटो पनि उत्तिकै मनन योग्य छ । त्यो भनेको अर्को ग्रहबाट आएका अधिक बौद्धिक र उन्नत सभ्यता भएका प्राणीहरू संगको सम्पर्कबाट उनीहरुसंग भएको उन्नत र परिष्कृत टेक्नोलोजीहरु सिक्न सक्ने हो भने पृथ्वीमा अझै उन्नत र परिष्कृत टेक्नोलोजीहरु निर्माण गर्न सकिन्छ । यसले हाम्रो ज्ञान बढाउन मद्दत पुर्‍याउँछ साथै भोक, गरीबी र रोगजस्ता विश्वका समस्याहरू समाधान गर्न , मानव सभ्यताको भविष्यको मार्ग सरल बनाउन, पतनबाट बच्न र दीर्घकालीन अस्तित्व प्राप्त गर्न सहयोग पनि त हुन सक्छ ।

(लेखक दाहाल अमेरिकाको टेक्ससमा अनुसन्धान कार्यमा संलग्न छन् ।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *