प्रधानमन्त्रीको स्वास्थ्यका कारण मन्त्रिपरिषदमा समन्वयको समस्या

डिसी नेपाल
१२ पुष २०७६ ९:१७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण मन्त्रिपरिषदमा समन्वयको समस्या देखिएको छ । मन्त्रिपरिषदका निर्धारित कार्यक्रमहरु अन्तिम समयमा स्थगित वा रद्द गर्नुपर्नेसम्मको परिस्थिति सृजना भएको छ । यसरी अन्तिम समयमा कार्यक्रम स्थगित हुँदा कार्यक्रमको लागि समय छुट्याइसकेका मन्त्रिहरुको यता पनि काम नहुने र अर्को काम पनि गर्न नपाउने समस्या भएको छ ।

गत पुस १० गते बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने कार्यक्रम थियो । तर यो कार्यक्रम प्रधानमन्त्रीको स्वास्थ्यका कारण भोलिपल्ट ११ गते शुक्रबारलाई सारियो । शुक्रबार बेलुका ४ बजे मन्त्रिपरिषद बैठक बस्ने गरी कार्यतालिका तय गरिएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्यले साथ नदिएपछि प्रधानमन्त्रीले बैठक बेलुका ५ बजेलाई सारे ।

५ बजे बैठक बस्ने लगभग निश्चित भएपछि सबैजसो मन्त्रीहरु बैठकका लागि बालुवाटार पुगे । बैठकका लागि अधिकांश मन्त्रीहरु ५ बजे बालुवटारमा भेला भइसकेपछि फेरि प्रधानमन्त्रीका तर्फबाट अर्को सूचना मन्त्रीहरुलाई दिइयो । सूचना थियो मन्त्रिपरिषद बैठक रद्द गरियो र कारण प्रधानमन्त्रीको स्वास्थ्य नै थियो ।

प्रधानमन्त्री ओलीको मृगौलाको डायलासिस नियमित रुपमा गर्नुपर्ने र डायलासिस गरिसकेपछि उनमा अत्यन्त कमजोरी अनुभव हुने कारण महत्वपूर्ण सरकारी कामहरुमा समन्वयको अभाव हुन थालेको एकजना मन्त्रीले डिसीनेपाललाई बताए । शुक्रबार बेलुका स्थगित गरिएको मन्त्रिपरिषद बैठक अब सोमबारको लागि निर्धारण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *