एमसीसी विवादः अमेरिकी दूतावासको प्रष्टीकरणपछि अप्ठेरोमा प्रचण्ड

डिसी नेपाल
१२ पुष २०७६ १२:१४

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले एमसीसी परियोजना इण्डो प्यासिफिक रणनीतिकै एक अंग भएको स्पष्टीकरण दिएसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका छन् । अब उनलाई यो परियोजना कुनै पनि हालतमा कार्यान्वयन हुनबाट रोक्नुपर्ने अन्यथा आफ्नो राजनैतिक र कूटनैतिक हार हुने अवस्था आइपरेको छ ।

प्रचण्डले अघिल्लो शुक्रबार नेकपा संसदीय दलको बैठकमा बोल्दै एमसीसी सम्झौता इण्डो प्यासिफिक रणनीतिको अंग भएमा नेपालले स्वीकार नगर्ने बताएका थिए । तर, यस विषयमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली भने एमसीसी स्वीकार गर्ने पक्षमा देखिएका थिए । एमसीसी स्वीकार गर्ने र नगर्ने विषयमा नेकपाका माथिल्लो तहका नेताहरु नै विभाजित छन् । अनुमोदनको लागि संसदमा दर्ता भइसकेको यो सम्झौताका विषयमा दुई मत भइरहँदा अमेरिकी दूतावासले यो इण्डो प्यासिफिक रणनीतिकै अंग भएको प्रस्ट पारेको हो ।

‘इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकी नीति हो र यो यस क्षेत्रमा गर्ने हरेक कामका लागि दिइएको नाम हो,’ अमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले नेपाली दैनिक कान्तिपुरसँग कुरा गर्दै भनेका छन् ‘यो कुनै संगठन वा गठबन्धन होइन, न नेपाल वा अन्य कुनै देशलाई यसमा सहभागी हुन नै भनिएको छ ।’ उनले अगाडि भने ‘नेपालको सार्वभौमिकता सबल भयो भने अमेरिकाको सार्वभौमिकता पनि सबल हुन्छ किनभने इन्डो–प्यासिफिक रणनीति भनेकै स्वहित हो ।’

प्रचण्डले इण्डो प्यासिफिक रणनीति अमेरिकाको यस क्षेत्रमा सैन्य रणनीति भएको समेत दावी गरेका थिए । उनले विकास निर्माणका गतिविधि संचालन गर्ने नाममा अमेरिकाले नेपालसँग सैन्य गतिविधिमा पनि सहकार्य गर्ने प्रयास गरेको भन्दै एमसीसी सम्झौता स्वीकार नगरिने बताएका थिए । तर, अमेरिकी दूतावासले भने एमसीसी इण्डो प्यासिफिक रणनीतिकै अंग भएको बताइरहँदा सैन्य गतिविधिबारे भने केही पनि बोलेको छैन । दूतावासले एमसीसी नेपालकै अनुरोधमा सुरु भएको पनि बताएको छ ।

अमेरिकी दूतावासको प्रष्टीकरणसँगै अध्यक्ष प्रचण्डमाथि दबाब थपिएको छ । अब उनले आफ्नो राजनैतिक विचारलाई कायमै राख्न कुनै पनि हालतमा एमसीसी कार्यान्वयन हुनबाट रोक्नैपर्ने स्थिति सृजना भएको छ । यदि प्रचण्डले यसलाई रोक्न नसकेमा उनको राजनैतिक विश्वसनीयतामाथि प्रश्न उठ्नेछ । सार्वजनिक ठाउँमा कमजोर कुटनीतिको प्रदर्शन गर्दै संवेदनशील विषयमा सोचविचार नै नगरी भाषण गरिदिने नेपाली नेताहरुको प्रवृत्तिको पछिल्लो शिकार प्रचण्ड हुने देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *