पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

डिसी नेपाल
१२ पुष २०७६ १५:१३

पोखरा। पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । आज भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको चितवनले उपाधि जितेको हो । चितवनले दिएको २०३ रनको लक्ष्य पच्छ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि मोहम्मद जैद आलमले ५७ रन बनाए । ४८ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का हाने । कप्तान प्रदिप ऐरीले ३६, पुनित मेहराले ३२ रन तथा नोमन खानले १८ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । चितवनका लागि करण केसीले ३, सनी पटेलले २ र रोहन मुस्तफाले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । उसका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतक बनाएका थिए । मुस्तफाले कप्तान पारस खड्कासँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । खड्का २५ रनमा आउट भए । बाबर हायात ५ रनमै पभेलियन फर्किए ।

चौथो नम्बरमा आएका अनिलले तेस्रो विकेटका लागि मुस्तफासँग ९५ रनको साझेदारी गरे । दुबै समान ५०–५० रनामा आउट भए । अरिफ शेखले १९ रन जोडे । उनी आउट हुँदा टिमको स्कोर १७० रन थियो र मात्र ११ बल बाँकी थियो । करण केसीले आक्रामक पारी खेले । उनले ८ बलमा दुई चौका र दुई छक्कासहित अविजित २६ रन बनाए भने सन्नी पटेल १६ मा नटआउट रहे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *