देशको गरिमा बढाउने खेलाडीको जिम्मेवारी राज्यले लिन्छ: प्रदेश प्रमुख अधिकारी

डिसी नेपाल
१२ पुष २०७६ २२:२८

विराटनगर । प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले खेलका माध्यमबाट देशको गरिमा बढाउने खेलाडीको जिम्मेवारी राज्यले लिने बताएका छन् ।

प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घद्वारा शनिबार यहाँ आयोजित रामेछापको खाँडादेवी गाउँपालिका –७ , गाल्पामा सम्पन्न २० औँ राष्ट्रिय सिनियर आइटिएफ तेक्वान्दो प्रतियोगितामा प्रदेश १ बाट सहभागी भई पदक जित्न सफल खेलाडीलाई सम्मान गर्दै उनले अनुशासन, लगन, इमान्दार, आँट, क्षमता र विश्वासका साथ खेल खेल्ने खेलाडीको सम्पूर्ण जिम्मेवारी राज्यले लिने बताए ।

प्रदेश प्रमुख अधिकारीले खेलकूदका माध्यमबाट जीविकोपार्जन गर्नसक्ने अवस्था आइसकेकाले खेलाडीले आत्मविश्वास र जिम्मेवारीपूर्वक आफ्नो खेल, कौशल प्रदर्शन गर्न आग्रह गरे । उनले प्रतियोगितामा पदक जित्न सफल २२ खेलाडीलाई माला, खादा र सम्मानपत्रद्वारा सम्मान गरे ।

प्रदेश प्रमुख प्यासीले उक्त प्रतियोगितामा ग्रुप स्पायरिङको पुरुष विधामा स्वर्णपदक प्राप्त गर्ने भुवन मगर, दिलन राई, वीरबहादुर तामाङ, हीराधन राई र सुरज चौधरी, पुरुष एकल स्पायरिङको ८० केजी माथिको तौल समूहमा स्वर्ण पदक प्राप्त गर्ने रोशन मगर र ६० देखि ६५ केजी तौल समूहमा स्वर्णपदक प्राप्त गर्ने आशिष मगर र महिला एकल प्याटन ब्ल्याक बेल्ट फष्ट डानतर्फ स्वर्णपदक प्राप्त गर्ने केरिसा आचार्यलाई सम्मान गरेका थिए ।

त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा पुरुष ग्रुप प्याटनतर्फ रजतपदक प्राप्त गर्ने सङ्गीत राई, आशिष तामाङ, अभय राई, मिसन श्रेष्ठ र विक्रम श्रेष्ठ र पुरुष एकल प्याटन ब्ल्याक बेल्ट तेस्रो डानतर्फ रजत प्राप्त गर्ने अर्जुन चौधरी रहेका छन्।

महिला ग्रुप स्पायरिङतर्फ कास्यपदक प्राप्त गर्ने अमिसा तामाङ, भावना तामाङ, विपना राई, श्रद्धा आचार्य र रोमिला राई, पुरुष एकल स्पायरिङ विधाको ६५ देखि ७० केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने निशान खत्री, ५० देखि ५५ केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने लोप्सन शेर्पा र महिला एकल स्पायरिङ विधाको ६५ देखि ७० केजी तौल समूहमा कास्यपदक प्राप्त गर्ने भावना तामाङ सम्मानित भएका थिए।

गत मङ्सिर २८ गतेदेखि ३० गते तीन दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा एकल स्पायरिङ पुरुष र महिला, ग्रुप स्पायरिङ पुरुष र महिला, एकल प्याटन पुरुष र महिला, ग्रुप प्याटन पुरुष र महिला र सेल्फ डिफेन्स पुरुष र महिला गरी पाँच वटा विधामा प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा प्रदेश नं १ ले तीन विधामा स्वर्ण, दुई विधामा रजत र चार विधामा कास्यपदक प्राप्त गर्न सफल भएको आयोजक सङ्घका अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए । प्रदेश १ बाट २६ खेलाडीले सहभागिता जनाएकामा २२ खेलाडीले पदक जित्न सफल भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *