निजी क्षेत्रसंग सरकारको गति नमिल्दा विकास भएन : उपाध्यक्ष ढकाल

डिसी नेपाल
१४ पुष २०७६ २०:१९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका तीनै तहका सरकारले निजी क्षेत्रलाई साझेदारका रुपमा लिएर अघि बढ्न सके देशमा आर्थिक विकास सम्भव रहेको बताएका छन् ।

छैठौँ चन्द्रौटा उद्योग व्यापार मेला तथा कृषि पर्यटन महोत्सवलाई आज प्रमुख अतिथिका रुपमा उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई एक सशक्त साझेदारका रुपमा लिएर केन्द्र, प्रदेश तथा स्थानीय तिनै तहका सरकार अघि बढ्न नसक्दा सम्म देशमा आर्थिक विकास सम्भव नभएको बताए ।

उपाध्यक्ष ढकालले विश्वका विकसित देशहरुले पनि यसैगरी निजी क्षेत्रलाई विकासको साझेदारका रुपमा लिएर सहकार्यका साथ अघि बढेकाले नै ती देशको विकास सम्भव भएको बताए ।

निजी क्षेत्रले तिर्ने कर सरकारले पाउने डिभीडेन्ट हो र निजी क्षेत्रले काम गर्ने सहज वातावरण नएसम्म देशमा उद्योग धन्दा र कलकारखाना फस्टाउन सक्दैनन् भन्ने यथार्थलाई सरकार र सरोकारवालाहरुले बुझ्न जरुरी छ उनले भने ।

उपाध्यक्ष ढकालले देश संघीयतामा प्रवेश गरेसँगै राजनीतिक नेतृत्वमा देश विकास गर्नुपर्छ भन्ने भावना जागेको तर किन–किन निजी क्षेत्रको गतिमा देशको संयन्त्रले काम गर्न नसकेको गुनासो निजी क्षेत्रबाटै बारम्बार सुन्नुपरेको बताए ।

उनले भने, ‘निजी क्षेत्रले खोजेको जस्तो काम गर्ने वातावरणको गति किन पुग्न सकिरहेको छैन भनेर खोज्नुपर्ने पो हो कि ? देशभरका व्यवसायीहरुको यस्तै गुनासो रहने गरेको छ ।

उनले निजी क्षेत्रले काम गर्ने वातावरणको निर्माणका लागि सरकारी संयन्त्रले निर्वाह गर्नुपर्ने भूमिका, कर प्रणालीमा सहजता तथा नयाँ काम शुरु गर्न व्यवसायीहरुलाई दिनुपर्ने इजाजतजस्ता विषयमा राज्यले ध्यान दिनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *