म्याराथनको उपाधि सेनाका दनुवारलाई

डिसी नेपाल
१५ पुष २०७६ २०:४४

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार सम्पन्न भएको दोस्रो जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताकोे उपाधि नेपाली सेनाका जितेन्द्र दनुवारले जितेका छन् । भीमदत्तनगर बजारदेखि ब्रह्मदेवसम्म भएको उक्त प्रतियोगितामा सेनाको श्रीनाथ गणका जवान दनुवारले उपाधि जितेको आयोजक भीमदत्त नगरपालिकाले जनाएको छ ।

त्यसैगरी प्रतियोगितामामा सेनाकै कालीदल गणका जवान श्रीकास राई दोस्रो र सेनाकै खड्क दल गणका शिवबहादुर रायमाझी तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने दनुवारलाई रु ४० हजार, ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिनुका साथै दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजारसहित पुरस्कृत गरिएको छ ।

भीमदत्त नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा महिला १५ किलोमिटर म्याराथनमा भीमदत्तनगरका पुष्पा पाण्डे प्रथम भएकी छन् भने सेनाका श्री नं २५ बाहिनी अड्डाका लक्ष्मी सुनार दोस्रो र सेनाका दवीदल गण मझगाउँ ब्यारेकका पुष्पा चन्द तेस्रो भएकी छन्।

महिलातर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई ट्रफीसहित क्रमशः रु २० हजार, रु १५ हजार र रु १२ हजारसहित पुरस्कृत गरिएको छ ।

त्यसैगरी १८ वर्षमुनिका प्रतियोगीका लागि आयोजना गरिएको पाँच किलोमिटर दौडमा छात्रतर्फ पूर्णा मावि ऐरीका विवेक सुनार प्रथम, बैजनाथ मावि भीमदत्तनगरका लक्ष्मण भण्डारी दोस्रो र मोनिङ्गग्लोरी स्कूलका प्रविन बुढाएर तेस्रो भएका छन्।

त्यस्तै छात्रातर्फ लक्ष्मी मावि बागफाँटाका लक्ष्मी बम पहिलो, सिद्धनाथ अमर मावि गड्डाचौकीका सोभा क्षेत्री दोस्रो र त्रिभूवन मावि तिलौचौरीकी गरिमा जोशीले तेस्रो स्थान ओगट्न सफल भए ।

छात्र÷छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकलाई क्रमशः रु १५ हजार, रु १२ हजार र रु १० हजार नगद र ट्रफिसहित पुरस्कृत गरिएको छ । छात्र÷छात्रातर्फ छैटौँ स्थान हासिल गर्ने प्रतियोगीलाई समेत नगदसहित पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ । विजयी धावकलाई सांसद डा दिपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी, मानबहादुर सुनार, नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टलगायतले पुरस्कृत गरेका थिए ।

भीमदत्त नगरस्थित खुल्लामञ्चमा एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गरेका थिए । प्रतियोगितामा विद्यार्थी, सर्वसाधारण, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ३०० भन्दा बढीले भाग लिएका थिए । पर्यटन र खेलकुदको विकास गर्ने उद्देश्यले सो नगरपालिकाले गत वर्षदेखि जैविक मार्गमा म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *