जब टिम पेनले डेभिड वार्नरलाई विशाल उपलब्धी हासिल गर्न ३ मिनेट दिए…

डिसी नेपाल
१५ मंसिर २०७६ १२:३७

काठमाडौं। अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले आफ्ना कप्तान टिम पेनले आफूलाई विशाल उपलब्धी हासिल गर्न ३ मिनेटको थप समय दिएको खुलासा गरेका छन् । वार्नरका अनुसार अस्ट्रेलियाको इनिङ डिक्लेयर गर्ने समय एडिलेडको स्थानीय समयअनुसार ५ बजेर ४० मिनेट पहिल्यै निर्धारण गरिएको थियो । तर, त्यतिबेला वार्नर ३३४ रनमा पुगेपछि कप्तान पेनले उनलाई अस्ट्रेलियाका डन ब्राडम्यान र मार्क टेलरसँग बराबरी भएको यो स्कोर उछिन्न दिए । यससँगै वार्नरले अस्ट्रेलियाको लागि टेस्टमा दोस्रो सर्वाधिक स्कोर बनाए ।

अस्ट्रेलियाले आफ्नो इनिङ डिक्लेयर गर्न तोकेको ५ बजेर ४० मिनेटको समयमा वार्नरले ३३४ रनको स्कोर बराबरी मात्र गर्न सकेपछि पेनले वार्नरलाई आफूले डिक्लेयर गर्न भन्दा अघि २२५ रनमा पुग्न उनीसँग समय भएको सन्देश दिएका थिए । ५ बजेर ४३ मिनेट जाँदा वार्नरले अन्तिम १ रन लिएर २२५ रनमा पुगेसँगै पेनले आफ्नो इनिङ समाप्तिको घोषणा गरेका थिए । त्यतिबेला वार्नर वा कुनै पनि अस्ट्रेलियन खेलाडीको दिमागमा ब्रायन लाराको ४०० नटआउट वा म्याथ्यु हेडनको ३८० रनको रेकर्ड तोड्ने सोच नै थिएन किनकि उनीहरु सबैलाई पहिल्यै थाहा थियो कि ५ बजेर ४० मिनेटमा इनिङ समाप्तिको घोषणा गरिनेछ ।

एडिलेडको मौसम पूर्वानुमान अस्ट्रेलियाको हितमा थिएन । भोलिपल्ट वर्षाले खेल रोकिन सक्ने खतरा थियो र अस्ट्रेलियालाई पाकिस्तानलाई अलआउट गर्दै सिरिज क्लिनस्विप गर्न पर्याप्त समय चाहिएको थियो । लाराको रेकर्ड तोड्नेबारे वार्नरले भने ‘मलाई त्यसबारे केही भन्नु छैन । हामीले भोलिको मौसमलाई हेरेका थियौं । हामीले आफैंलाई धेरै समय दिन चाहन्थ्यौं । हामीले आज नै केही विकेट लिने प्रयास गर्यौं भने हामी केही अगाडि बढ्थ्यौं। भोलि पानी परेमा बलरहरुले आराम पाउँथे । हामीले ६ विकेट पनि लिन सक्यौं । अब १४ विकेट लिन हामीलाई केही सहज भयो । हाम्रो दिमागमा त्यहाँसम्म पुग्ने र त्यो रेकर्ड हासिल गर्ने कुनै सोचाइ नै थिएन ।’

वार्नरले भने ‘चियाको ब्रेकमा मैले साथीहरुसँग सोधें कि हामी कतिबेला डिक्लेयर गर्दैछौं । उनीहरुले भने ५ बजेर ४० मिनेटमा । मैले ओके भनें । मैले खेलिरहँदा पनि उनीहरुसँग डिक्लेयर गर्नेबारे सोधिरहेको थिएँ । त्यो अन्तिम ओभरको ठिक अगाडि ५ बजेर ४० मिनेट गएको थियो । मैले इशाराले सोधें । पेनले मलाई इशाराले नै ३३४ रनको मार्कलाई उछिनेर अगाडि जाने प्रयास गर्न भने ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *