सागको भव्य उद्घाटन, प्रविधि र संस्कृतिको बेजोड समिश्रण

डिसी नेपाल
१५ मंसिर २०७६ २१:३२

काठमाडौं। दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) नेपालमा २० वर्षपछि फर्किँदा आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्य उद्घाटन भयो।

उद्घान हुने दिन आइतबारसम्म रंगशाला निर्माणका कामहरु भइरहेका थिए। व्यवस्थापन कमजोर भएको संकेत भलिबल खेल शुरु भएपछि देखिएको थियो। तर, आइतबार साँझ पाँच बजेपछि शुरु भएको १३ औं सागको उद्घाटन समारोह भने निकै भव्य भयो। जसरी रंगशाला निर्माण, खेलाडीको तयारी र अन्य व्यवस्थापकीय कार्यमा ढिलाई र चुस्तता थिएन, उद्घाटन पनि भव्य होला भन्ने आशंका थियो।

तर, सबै आशंकालाई मेटाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सागको भव्य उद्घाटन गरिन्। उद्घाटन् समारोहमा दिइएका प्रस्तुति र लाइटिंगको उत्कृष्ट एनिमेशनले उद्घाटनलाई भव्य बनायो।

खेलाडीहरुको मार्चपासका क्रममा बीचमा राखिएको इन्ट्रो नेपाली कलासंस्कृति झल्काउने थीममा प्रस्तुत गरिएको थियो। त्यसपछि जब ब्याण्डको प्रस्तुति भयो, लाइटिंग र ब्याण्डको बेजोड समिश्रण देखियो। नेपाली सेनाको ब्याण्डले नेपालको झण्डा आकृतिको प्रस्तुति दिएको थियो।

त्यसपछि शुरु भएको प्रस्तुतिमा करिब एक हजार कलाकारले नेपालका सात प्रदेशको कला संस्कृति झल्किने प्रस्तुतिमात्र दिएनन्, सागमा सहभागी भएका सातै देशको नक्सा र नाम आकृति तथा साथमा ती देशहरुको सांस्कृतिक झलक पनि प्रस्तुत गरियो।

उद्घाटन समारोहको सबैभन्दा आकर्षणको केन्द्र भने लाइटिंग एनिमेशनका माध्यमबाट पर्दामा देखाइएको खेल थियो। सागमा समावेस गरिएका एथलेटिक्स, आर्चरी, भलिबल, तरवार, खोखो, हेण्डबल, भलिबल, फुटबल, पौडी, गल्फ, टेबल टेनिस, लनटेनिस, कबड्डी, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, बक्सिंग, कुस्ती र क्रिकेटलाई लाइटिंगका माध्यमबाट पर्दामा देखाइएको थियो। यतिमात्र होइन एथ्लेटिक्समा खेलाडी कुदेकोसमेत पर्दामा एमिनेशन देखाइएको थियो। बिच बिचमा गरिएको आतिवाजीले रंगशालाको माहोल नै मनमोहक बनाइदिएको थियो।

साथमा लाइटिंगको रंग र टाइमिंग पनि बेजोडसँग मिलेको थियो। सागको भव्य उद्घाटनले नेपालको शान बढाएको छ।

मार्चपासमा नेपालको झण्डा भारोत्तलनका कीर्तिमानी खेलाडी कमल अधिकारीले बोकेका थिए। उता सम्पूर्ण खेलाडीको तर्फबाट अनुशासन कायम राख्ने शपथ नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले ग्रहण गरे भने सम्पूर्ण रेफ्रीका तर्फबाट ब्याडमिन्टनका रेफ्री दिपक थापाले शपथ लिए।

तस्वीरहरु : रमण मानन्धर/डिसी नेपाल र रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *