नेपाली महिला टिमले एक ओभर पनि पूरै नखेली खेल जिते

डिसी नेपाल
१६ मंसिर २०७६ १२:१६

काठमाडौं। नेपाली महिला क्रिकेटर अञ्जली चन्दले विश्वरेकर्ड बनाएको खेलमा नेपाली महिला टिमले ऐतिहासिक जीत निकालेको छ । नेपाली महिला टिमले एक ओभर पनि नखेली खेल जितेको छ ।

माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपाली टिमले ५ बलमै भेट्टायो । नेपालका लागि कावल श्रेष्ठले ५ बलमै १४ रन बनाइन् । बाँकी रन माल्दिभ्सले एक्स्ट्राबाटै दिएको थियो । यद्यपि नेपाली टिमले सबैभन्दा छिटो लक्ष्य भेट्टाएको विश्वरेकर्ड बनाउन भने एक बलले चुकेको छ । यसअघि सबैभन्दा छिटो लक्ष्य भेट्टाएको विश्वरेकर्ड तान्जानिया र रुवाण्डा दुई देशको संयुक्त नाममा छ । दुवैले मालीविरुद्ध ४ बलमै लक्ष्य भेट्टाएका छन् । आज नेपाललाई भने लक्ष्य भेट्टाउन ५ बल लाग्यो ।

यद्यपि यो खेलमा नेपाली बलर अञ्जली चन्दले भने विश्वरेकर्ड बनाउन सफल भइन् । उनले अन्तर्राष्ट्रिय टि–२० मा बेस्ट बलिङ फिगरको विश्वरेकर्ड बनाएकी हुन् । आज जारी माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले २ ओभर १ बल बलिङ गर्दै एक रन पनि नदिइ ६ विकेट लिएर अन्तर्राष्ट्रिय टि–२० अन्तर्राष्ट्रियमा नयाँ इतिहास बनाएकी हुन् ।

पोखरामा भएको खेलमा अञ्जलीले आफ्ना सुरुका २ ओभरमध्ये पहिलो ओभर ३ विकेटसहित मेडन र दोस्रो ओभर २ विकेटसहित मेडन राखिन् र तेस्रो ओभरको पहिलो बलमै विकेट लिँदै इतिहास बनाएकी हुन् । उनको यो इनिङको इकोनोमी शुन्य छ । यसअघि यो रेकर्ड मलेसियाकी मास एलियाको नाममा थियो । एलिसाले गएको जनवरीमा चीनविरुद्ध भएको खेलमा ४ ओभरमा १ ओभर मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *