नेपालले १० स्वर्णसहित १४ पदक जित्यो

डिसी नेपाल
१६ मंसिर २०७६ १६:०९

काठमाडौं। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १० स्वर्ण, २ रजत र २ कास्य पदक जितिसकेको छ । करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई व्यक्तिगत पुरुष काता प्रदर्शनमा पहिलो स्वर्ण पदक दिलाएका छन् । महिला टिम कातामा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको समूहले पनि स्वर्ण पदक जितेको छ।

करातेको पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ। मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर रहेको समूहले स्वर्ण जितेको हो। तेक्वान्दोको व्यक्तिगत पुरुष काता प्रदर्शनमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन्। यस्तै ट्रयाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ। नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन् । यस्तै, तेक्वान्दो खेलमा सिना लिम्बू मादेनले स्वर्ण दिलाएकी छिन्। यस्तै लक्ष्मण तामाङले ५५ केजी समूह कराते किक बक्सिङमा स्वर्ण जितेका छन् ।

यस्तै तेक्वान्दोको पुम्सेमा नेपालकी पार्वती गुरुङले २३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी छिन् । उनले श्रीलंकालाई पराजित गरिन् । यस्तै तेक्वान्दोको पुम्सेमै ३० वर्ष माथिको समूहका आयशा शाक्यले भारतलाई पराजित गर्दै स्वर्ण जितिन् । करातेतर्फ विप्लवलाल श्रेष्ठले पनि पाकिस्तानलाई हराउँदै स्वर्ण पदक जिते ।

नेपालकी चञ्चला दनुवारले महिला एकल कातामा रजत पदक जित्न सफल भइन्। चञ्चलाले फाइनलमा पाकिस्तानकी सइदासँग पराजित भइन्। करातेका दिवस श्रेष्ठले ६४ केजी मुनी तौल समूहको फाइनलमा पाकिस्तानसँग पराजित भएपछि रजत पदक जिते । त्यस्तै, पुरुष ट्रायथलोनको पुरुषतर्फ भने नेपालका बसन्त थारुले कास्य पदक जितेका छन्। यस्तै ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपालले १ कास्य पदक जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *