त्रिभुवन विश्वविद्यालयको बेरुजु १९ अर्ब ६५ करोड बढी

डिसी नेपाल
१६ मंसिर २०७६ १७:२१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ ।

कूल १२ अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु रहेकामा २०७६ असार मसान्तसम्म १ अर्ब ४७ करोड ४२ लाख १९ हजार बेरुजु फर्छौट गरिएको छ । गत असार मसान्तसम्ममा ८६ करोड ९० लाख एक हजार समपरीक्षण गरिसकेको र ५८ करोड समपरीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको उनले जानकारी दिए ।

आ.व. २०७३/७४ सम्मको बेरुजु १९ अर्ब ५३ करोड २२ लाख २८ हजार रहेकोमा २०७५ वर्षमा पुनः २ अर्ब ८९ करोड ४२ लाख १९ हजार बेरुजु बढ्न गएको प्रस्तुत गरिएको बजेटमा छ । त्रिविले २०७५ चैतमसान्तसम्म १ अर्ब २९ करोड ९२ लाख १६ हजार बेरुजु फर्छौट गरेको थियो ।

रजिष्ट्रार उप्रेतीले आ.व. २०७३÷७४ मा विकास निर्माणका कार्यथप भएको र परियोजना पूरा भएर पनि हस्तान्तरण नभएकाले बेरुजु बढेको बताए। त्रिविका ९५ मध्ये १७ वटाको आन्तरिक लेखापरीक्षक सम्पन्न भइसकेको छ ।

त्रिविले बेरुजु रकममा आउँदो जेठ महिनाभित्र व्यक्तिगत पेश्की बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिने भएको छ । आव २०६९/७० सालसम्म कायम भएको व्यक्तिगत पेश्की गत फागुन मसान्तसम्म बुझाएमा पेश्की रकममा लाग्ने ब्याजमा ५० प्रतिशत छुट दिँदा १३ करोड पेश्की फर्छौट भएको थियो ।

रजिष्ट्रार उप्रेतीले आगामी दिनमा कार्ययोजना बनाइ पेश्की फर्छौटको कार्यलाई प्राथमिकतामा राखिने बताउनुभयो । त्रिविले बेरुजुको लागतलाई व्यवस्थित गर्नका लागि विगत १० वर्षको बेरुजुको अभिलेखलाई विद्युतीय प्रणालीमा राखिएको छ ।

त्रिविले यसै आर्थिक वर्षमा सबै बेरुजुलाई शून्यमा झार्ने अभियानमा शुरु गरेको छ । लेखापरीक्षण कार्यसम्पन्न हुन लागेकोले बेरुजु फर्छौट वर्षको रुपमा कार्ययोजना बनाइ बेरुजु घटाउने कार्यलाई उच्च प्राथमिकता दिइने जनाइएको छ । त्रिविका ९५ इकाइमध्ये १७ वटाले मात्र लेखापरीक्षण गराउन बाँकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *