जलवायु परिवर्तनबारे छलफल गर्न विश्वभरका नेताहरु म्याड्रिडमा

डिसी नेपाल
१६ मंसिर २०७६ २१:४६

म्याड्रिड (बीबीसी) । जलवायु परिवर्तनका कारण विश्वभर संकट बढिरहेको भनिएका बेला संसारभरबाट राजनीतिक नेता र कूटनीतिज्ञहरू दुई हप्ते छलफलका लागि स्पेनको राजधानी म्याड्रिडमा भेला भएका छन्।

त्यसमा सहभागी विज्ञहरुले आउँदो १२ महिनामा जलवायु सम्बन्धी विषयमा नाटकिय रूपमा काम गर्नका लागि स्पष्ट योजना बनाउनुपर्ने चुनौति रहेको बताएका छन्।

छलफलमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले उनकै शब्दमा पछाडि फर्कन नसकिने विन्दू अब क्षितिजपारी नरहेको बताएका छन्।

त्यस्तै सेभ द चिल्ड्रेनले जलवायुका झट्काले अफ्रिकामा दशौँ लाख मानिसहरूलाई गरिबीको मुखमा धकेलिदिएको बताएको छ।

उक्त परोपकारी संस्थाका अनुसार तीन करोड तीस लाख मानिसहरू अनिकाल र समुद्री आँधीका कारण खाद्य असुरक्षाको आपतकाल झेल्ने अवस्थामा छन्।

मानव गतिविधिका कारण कार्बनडाइअक्साइडजस्ता हरितगृह ग्यासहरू उत्सर्जन हुँदा विश्वको सतहको औसत तापक्रम द्रूत गतिमा बढिरहेको छ। ती ग्यासहरूले हरितगृहको शिसाको छानोलेझैँ वायुमण्डलमा तापलाई रोक्छन्।

बैठकको सुरुमा बोलेका गुटेरसले जलवायु सङ्कट सङ्घारमै रहेको भन्दै राजनीतिक नेताहरूले त्यसप्रति जवाफदेही बन्नुपर्ने बताएका छन्।

‘मानव जातीले अहिले पछाडि फर्कन नसक्ने गन्तव्यमा पुग्ने कि सन् २०५० भित्र कार्बन तटथ्तता हासिल गर्नेगरी आशावादी बाटो समात्ने भन्नेबिच अब एउटा कठोर निर्णय लिनुपर्नेछ,’ उनले भने।

बरिष्ठ अमेरिकी डेमोक्र्याट न्यान्सी प्यालोसीले भने ट्रम्पले पेरिश सम्झौताबाट हात झिकेपनि विश्वले यस अभियानमा अमेरिका साथमै रहेको सम्झन आग्रह गरेकी छिन्।

स्पेनको राजधानीमा विश्वका झण्डै ५० नेताहरू सहभागि हुने अपेक्षा गरिए पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भने त्यसमध्ये हुनेछैनन्।

कोप २५ भनिने यो सम्मेलन खासमा चीलेमा आयोजना हुनेवाला थियो। तर त्यहाँ थुप्रै सातासम्म नागरिक आन्दोलन भएपछि सरकारले आफ्नो आयोजनालाई रद्द गरेको थियो।

त्यसपछि स्पेनले आयोजनाको जिम्मेवारी लियो जसमा दुई साताबिचमा २९ हजारले सहभागिता जनाउने छन्।

यो बैठकले आफ्ना जलवायु सम्बन्धी महत्वकांक्षालाई बढाउने उद्देश्य राखेको छ। जसले गर्दा सबै देशहरूले आफ्ना उत्सर्जन घटाउने प्रतिबद्धतालाई बढाउनेछन्।

बैठकमा युरोपेली संघकी (इयु) अध्यक्ष उर्जुला फोनदेर लाइनले आफुहरुले पहिलो पटक युरोपेली जलवायु कानुन प्रस्ताव गर्ने बताएकी थिइन्।

राष्ट्रसंघले सार्वजनिक गरेका यसअघिका तीनवटा प्रतिवेदनको पृष्ठभूमिमा यो बैठक भइरहेको हो जसले डरलाग्दो जलवायु परिवर्तनलाई सीमित पार्न बढ्दो आपत्कालिन पहलबारे कुरा उठाएको छ।

प्रशान्त महासागरको देश मार्सल आइल्याण्डका राष्ट्रपतिले समुद्री सतह बढेर आफ्नो देशका लागि उनकै शब्दमा त्यो ‘मृत्युदण्ड बन्न सक्ने सम्मेलनका क्रममा बताएका छन्।

यो बैठकमा महत्त्वपूर्ण १२ महिने वार्ताहरूको सुरुवात गर्नेछ जसले कोप २६ भनिने अर्को वर्ष ब्रिटेनको ग्लासगोमा हुने कार्यक्रममा पूर्णता पाउने ठानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *