साग क्रिकेटः दिपेन्द्रको शानदार इनिङपछि नेपालले श्रीलंकालाई दियो १७३ रनको बलियो लक्ष्य
काठमाडौं। दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेटको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १७३ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।
टेस्ट मान्यता प्राप्त श्रीलंकाको अण्डर २३ टिमविरुद्ध खेलिरहेको नेपालले बनाएको यो स्कोर खेल जित्न सकिने स्कोर मानिन्छ । टि–२० मा नेपालको राष्ट्रिय टोलीको यो दोस्रो ठूलो स्कोर हो । यसअघि गत जुलाइमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको क्षतिमा बनाएको १७३ रनको स्कोर नेपालको टि–२० मा सर्वाधिक स्कोर हो ।
३४ बलमा अर्धशतक बनाएका दिपेन्द्र सिंह ऐरीले कूल ४४ बल खेलेर नटआउट ७२ रन बनाए । यसका लागि उनले ४ चौका र ३ छक्का प्रहार गरे । पवन सर्राफले छोटो इनिङमा उत्कृष्ट ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए । श्रीलंकाका लागि कमिन्डु मेन्डिसले २ तथा दुविन्दु तिलकरत्ने, कविस्का अन्जुला तथा अथिा फर्नान्डोले १–१ विकेट लिए ।















No ads found for this position


डिसी नेपाल
Facebook Comment