जलाएर मारिएकी डाक्टरकी बहिनी, पिता र आमाले सुनाए त्यस रातको दर्दनाक भोगाइ

डिसी नेपाल
१७ मंसिर २०७६ १३:४६

काठमाडौं। हैदराबादमा एक पशु चिकित्सकलाई सामूहिक बलात्कारपछि हलाएर हत्या गरिएको घटनामा सिंगो देशमा आक्रोश फैलिएको छ । पशु चिकित्सकसँग भएको बर्बरता भारतीय मिडिया इण्डिया टुडेले पीडितका परिवारसँग कुरा गरेको छ । पीडितका पिताका अनुसार अपराध गर्नेहरुको उमेर निकै कम छ तर उनीहरुले ठूलो अपराध गरे उनीहरु अपराधी हुन् र उनीहरुलाई छिटोभन्दा छिटो सजाय दिइनुपर्छ । पीडितकी आमा भने आफ्नी छोरीलाई जसरी जलाइयो आरोपीहरुलाई पनि त्यसैगरी जलाउनुपर्ने बताउँछिन् । हैदराबाद काण्डपछि इण्डिया टुडेको टिम पीडितको घर गएर उनका माता पिता र उनकी एक्ली बहिनीसँग कुरा गरेको हो ।

पीडितका पिताका अनुसार जतिबेला उनकी छोरीको फोन आएको थियो त्यतिबेला उनी घरमा थिएनन् । उनी कोल्हापुरमा थिए । उनले यो घटनामा पुलिसको काम ढिलो भएको उनले आरोप लगाए । पुलिस सुरुवातमा घटनास्थलमा गएन र केवल सिसिटिभी क्यामेरा हेरिरह्यो । सिसिटिभी फुटेजमा पीडित देखिइनन् । यहाँसम्म कि पुलिसले उनकै छोरीको चरित्रमाथि प्रश्न उठाउँदै उनी कहीँ आफ्नै मर्जीले गएको बतायो ।

पीडितका पिता दोषीहरुलाई छिटो भन्दा छिटो सजाय दिइनुपर्ने बताउँछन् । पहिले निर्भयाका आरोपीहरुलाई छोडिदियो र अहिले यो काण्ड भएको बताउँदै उनले दोषीहरुलाई कडा सजाय दिइनुपर्ने बताए । पीडितकी बहिनीका अनुसार उनी घटनापछि घरबाट निस्किएकी छैनन् । दिदीले पुलिसको कुनै सहयोग पाइनन् । यदि समयमै उनले सहयोग पाएको भए उनी जीवित बच्थिन् । बहिनीले पनि दोषीहरुलाई कडा सजाय दिन माग गरिन् ।

पीडिकी बहिनीका अनुसार जुन ठाउँमा घटना भयो त्यो ठाउँ उनीहरुको घरबाट मात्रै २ किलोमिटर टाढा छ । दिदीको फोन आएपछि ६ मिनेट कुरा भएको थियो । उनका अनुसार उनको फोनमा रेकर्डिङ सुविधा छ र दिदीसँग उनको अन्तिम फोन कल रेकर्ड भयो जसमा उनले आफूलाई डर लागेको बताएकी थिइन् । बहिनीका अनुसार दिदी उनीभन्दा डेढ वर्ष मात्रै जेठी थिइन् तर धेरै ख्याल राख्थिन् । यहाँसम्म कि उनी खाना पनि प्याक गर्थिन् । कैयौं पटक उनलाई खाना पनि खुवाउँथिन् । उनी सबैको मद्दत गर्थिन् ।

पिताका अनुसार उनी निकै होनहार युवती थिइन् । उनले आफ्ना सबै सपना पूरा गरिसकेकी थिइन् । उनले दैनिक १४ घण्टासम्म पढेकी थिइन् । उनले ५ वर्ष डाक्टरी पढिन् । उनले सर्भिस कमिशनको परीक्षा पास गरेर ३ वर्ष जागिर गरिन् । पिताका अनुसार उनी छोरीको बिहे गरिदिने तयारीमा थिए । २–३ महिनामा उनको विवाह गरिदिने योजना थियो । साथमा उनी पोस्ट ग्रयाजुएट गर्ने तयारीमा थिइन् । उनी विवाहपछि पोस्ट ग्रयाजुएट गर्नेवाला थिइन् ।

पिताले छोराहरुलाई पनि संस्कार दिइनु जरुरी भएको बताए । घरमा संस्कार दिइएमा यता घटना रोकिने उनले बताए । उनले छोरीहरुलाई पनि जागरुक बनाउनु पर्ने बताए । पिताले पुलिसको १०० नम्बरको आलोचना गर्दै यसमा धेरै समय लाग्ने बताए । फोन गरेपछि १ नम्बर डायल गर्नुस्, २ नम्बर डायल गर्नुस् भनिने भएकोले यसमा धेरै सुधार गरिनुपर्ने उनले बताए । पिताका अनुसार अन्तिम फोन कलमा उनले फल काटेर राख्न भनेकी थिइन् । उनलाई फल खान निकै मन पर्थ्यो ।

पुलिसका अनुसार २७ नोभेम्बरका दिन महिला डाक्टरलाई ट्रक ड्राइभर र उनका साथीहरुले अपहरण गरे । आरोपीहरुले पीडितलाई सुनसान ठाउँमा लिएर गए र उनलाई जबरजस्ती रक्सी खुवाए त्यसपछि सामूहिक बलात्कार गरे । एक आरोपीले मुख र नाक दबाएर पीडितको ज्यान लिए । त्यसपछि त्यहाँबाट २७ किलोमिटर टाढा लगेर पेट्रोल हालेर लाश जलाए । शवको नजिकै पीडितको फोन घडी लुकाए ।

चारैजना आरोपी बाल्यकालका साथी हुन् । आरोपी मोहम्मद आरिफ ट्रक ड्राइभर हुन् । बाँकी तीनैजना क्लिनर हुन् । आरोपी नम्बर १ – नाम मोहम्मद आरिफ, उमेर २६ वर्ष, पढाइ १० कक्षा पास । आरोपी नम्बर २ – नाम शिवा, उमेर २० वर्ष । आरोपी नम्बर ३ – नाम नवीन कुमार, उमेर २० वर्ष, नवीन र शिवाको आपसमा नाता पर्छ । आरोपी नम्बर ४ – नाम चेन्ना केशवल्लु, उमेर २१ वर्ष, परिवार खेली गरेर गुजारा गर्छ, एक वर्ष पहिले उनको बिहे भएको थियो ।

पुलिसका अनुसार शिवाले सबैको लागि रक्सी ल्याएका थिए । आरिफले पीडितलाई सबैभन्दा पहिले जबरजस्ती बलात्कार गरेका थिए । आरिफ, नवीन शिवा तीनजना मिलेर पीडितलाई उठाएर सुनसान ठाउँमा लिएर गएका थिए । आरिफले नै उनको मुख र नाक दबाएर हत्या गरेका थिए । उनैले पेट्रोल खन्याएका थिए र शिवाले आगो लगाएका थिए ।

हैदराबाद केसको जाँचको क्रममा जो खुलासा भएका छन् त्यसबाट यही देखिएको छ कि रक्सीको नशामा लठ्ठ आरोपीहरुले डरलाग्दो घटना यसरी घटाए मानौं केही भएकै छैन । सबैजना पीडितलाई मारेर आगो लगाइ आरामसँग घर गए । पुलिसले पीडितको शव समसाबादको बाहिरी इलाकामा भेट्टाएको थियो । पुलिसको रिमाण्ड कपीका अनुसार २७ नोभेम्बरको रात १० बजेदेखि बिहान ४ बजेसम्म पूरै वारदातको घटना घटाइएको थियो । पुलिसको हिरासतमा रहेका चारैजना आरोपीलाई १४ दिनका लागि पुलिस हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिइएको छ । मुद्दाको सुनुवाइ फास्ट ट्रयाक अदालतमा हुनेछ ।

डाक्टरसँग सामूहिक बलात्कार त्यसपछि शव जलाएको घटनाबाट देशभरमा आक्रोश छ । हैदराबादमा जुन पुलिस थानामा आरोपीहरुलाई राखिएको छ त्यसको सूचना पाएपछि केहीबेरमै सयौं मानिसहरुले थाना घेरेका थिए । हैदराबादबाट ५० किलोमिटर टाढा रहेको यो थानाअगाडि ‘हामीलाई न्याय चाहिन्छ’को नारा लगाउँदै स्थानीयले धर्ना बसे जसमा महिलाहरु र विद्यार्थीहरु पनि थिए । उनीहरु आरोपीहरुलाई बिना सोधपुछ र बिना सुनुवाइ छिटोभन्दा छिटो फाँसीमा झुण्ड्याउन माग गरेका छन् ।

घटनाले देशको राजधानी दिल्लीमा पनि आक्रोश छ । यो क्रुरताको विरुद्ध अनु दुबे नामकी युवती संसद भवन अगाडि धर्नामा बसेर रुन थालिन् । अनु दुबेको विरोध प्रदर्शनलाई निर्भयाकी आमाले पनि साथ दिइन् । निर्भयाकी आमाले हैदराबादको घटनाले फेरि २०१२ को याद ताजा गरेको बताइन् । २०१२ मा निर्भयालाई पनि बलात्कारपछि हत्या गरिएको थियो जुन घटनाले सिंगो देश हल्लिएको थियो ।

दिग्गज अभिनेता चिरञ्जीवीले एक भिडियो सन्देशमा भनेका छन् ‘यो तारिफको कुरा हो कि कम समयमै चारैजना आरोपीलाई समातियो । अब सडकमा फाँसी दिनु एकदमै सही तरिका हो, ती मानिसमा डर पैदा गराउने जो यस किसिमको सोच राख्छन् । अक्ष्य कुमार, शबाना आजमी, यामी गौतम, सलमान खान लगायतले पनि यस विषयमा प्रतिक्रिया दिँदै आक्रोश व्यत्तः गरेका छन् ।

डाक्टरलाई न्याय दिलाउने अभियान तीब्र हुँदै गएको छ । यसको लागि ट्वीटरमा ह्याशट्याग आरआइपी प्रियंका रेड्डी ट्रेण्ड गरिरहेको छ । उनीमाथि क्रुरताविरुद्ध आक्रोश र पीडा चारैतिर देखिएको छ । मानिसहरु यतिसम्म आक्रोशित छन् कि चारैजना आरोपीलाई बिना दलिल–अपिल अन द स्पट फाँसी दिन माग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *