उसुमा यी हुन् नेपाललाई दुई स्वर्ण दिलाउने

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले मंगलबार दुई स्वर्ण जितेको छ। लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन्।

थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जिते। बंगलादेशका मोहमद उमरले ९.३४ अंकका साथ रजत र भारतका अन्जुल ९.१६ अंक बटुल्दै काश्यमा सीमित भए।

महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारिन् । सुस्मिताले ९.४४ अंक जोड्दै स्वर्ण जितिन् । रजत जितेका श्रीलंकाका पीएचजी वत्सलाले ८.८५ अंक जोडिन् भने कांस्य पदकमा सीमित भएकी बंगलादेशकी नुर बेहर बेगमले ७.५९ अंक मात्रै जोड्न सकिन् ।

मंगलबार भएको नानछ्वानमा नेपालका दीपक हमालले ९.७० अंकका साथ शीर्ष स्थान हात पारेका छन् । उनलाई नेपालका साजन लामाले ९.६१ अंकका साथ पछ्याउँदा बंगलादेशका मोहमद आमिर हुसेनले ८.८७, पाकिस्तानका मोहमद दावदले ८.४८ र श्रीलंकाका चासिथ हेमन्थ्स् कुमाराले ७.५२ अंक जोडेका छन् । उनीहरुले बुधबार नानगुनका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी महिला नानक्वानमा नेपालकी नीमा घर्तीमगरले ९.३१ अंक जोड्दै शीर्ष स्थान हासिल गरेकी छन् । उनलाई बंगलादेशकी मोर्जिना अख्तरले ८.८० र श्रीलंकाकी सन्जु कुमारीले ७.६१ अंकका साथ पछ्याइरहेका छन् ।

यसैगरी थाउलोकै पुरुष ताइचीछुवानमा श्रीलंकाका थारिुदु नमल अनुरथ ९.६९ अंकका साथ शीर्ष स्थानमा छन् । भारतका ज्ञानदास सिंहले ९.५९, नेपालका हरिप्रसाद गोलेले ९.४४ र बंगलादेशका मोहमद बिप्लोप रुद्रले ९.२५ अंक जोडेका छन् ।

महिला ताइचिछुवानमा पनि श्रीलंकाकी एमएलडीटीएस गुणशेखरा शीर्ष स्थानमा छिन् । उनले ९.२४ अंक जोड्दा नेपालकी मीना घलानले ९.१७ अंक बटुलेकी छन् । यस स्पर्धामा बंगलादेशकी दीप्ति दासले ८.७५ र पाकिस्तानकी समरिन अल्ताफले ६.७५ अंक जोडेकी छन् ।

यसैगरी सान्डाको महिला ५२ केजीमा नेपालकी अलिना चौधरी सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले बंगलादेशकी फमिन्दा तबासुम लिमलाई अंकका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् । महिलाकै ५६ केजीमा भारतकी विद्यापति चानुले पाकिस्तानकी रुक्सना हनिफलाई अंकका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् ।

सान्डाको महिलाकै ६० केजीको सिंगल राउन्ड रोबिनमा भारतकी रोसिविना देवीले बंगलादेशकी रीताविश्वास पूजालाई नकआउट गरिन् । महिलाकै ७० केजीको राउन्ड रोबिनमा नेपालकी विन्दा पुन बंगलादेशकी बासुना खन्दोकरलाई नकआउट गर्दै अघिल्लो चरणमा स्थान बनाइन् ।

सान्डाकै पुरुष ५६ केजी तौल समूहको प्रतिस्पर्धामा भारतका उचित शर्माले फाइनलमा स्थान बनाए । उनले क्वार्टरफाइनलमा नेपालका अमर सुनारलाई अंकका आधारमा पराजित गरे । पुरुषकै ६० केजीमा भारतका विक्रान्त बलियानले पाकिस्तानका अब्दुल्लाहलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । ७० केजी तौल समूहमा भने श्रीलंकाका रुमेशले सेमिफाइनलमा स्थान बनाए । उनले बंगलादेशका मोहमद लिटन अलीलाई अंकका आधारमा पराजित गरे ।

पुरुषको ८५ केजी तौल समूहको राउन्ड रोबिन लिगमा पाकिस्तानका मोहमद अम्जद इक्वालले विजय हासिल गरे । उनले नेपालका किरण साउदलाई अंकका आधारमा पराजित गरे ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position