गल्फमा पनि नेपालका शुक्र र टिमकै अग्रता

डिसी नेपाल
१७ मंसिर २०७६ २२:३६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबारदेखि सुरु भएको गल्फ खेलमा नेपालका शुक्रबहादुर राईले एकल अग्रता लिएका छन् । पार ७२ को गोकर्ण गल्फ कोर्समा पहिलो दिन शुक्रले चार अन्डर ६८ खेले । पुरुष ब्यक्तिगततर्फ शुक्र शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा नेपालकै टंकबहादुर कार्की छन् । टंकले तीनअन्डर ६९ खेलेका छन् । ब्यक्तिगततर्फ बंगलादशेका मोहमद सोमरत तेस्रो स्थानमा छन् । पहिलो दिन सोमरतले दुई अन्डर ७० खेले ।

पुरुषको टिम स्पर्धामा पनि नेपाल शीर्ष स्थानमा छ । नेपालका शुक्रले ६८, टंकले ६९, सुवास तामाङले एक अन्डर ७१ र निरज तामाङले इभनपार ७२ खेले । टिम स्पर्धामा पुरुषतर्फ तीन जनाको स्कोरलाई समावेश गरिएको छ । पहिलो दिन नेपाली टिमको कूल दुई सय आठ स्कोर छ ।

पुरुष टिम स्पर्धामा बंगलादेश र श्रीलंकाको समान दुई सय १९ स्कोर छ । पुरुषतर्फ टिम स्पर्धामा नेपाल, बंगलादेश र श्रीलंकाले भाग लिएका छन् । एकलमा भने भुटानले एकजना खेलाडी मात्र सहभागी गराएको छ । पहिलो दिन मंगलबार भुटानका निम दोर्जी तामाङले सात ओभर ७९ खेलेका छन् ।

यसैगरी महिला एकलमा श्रीलंकाले अग्रता लिएको छ । पहिलो दिन श्रीलंकाकी ग्रेस यातावाराले एकल अग्रता बनाइन् । ग्रेसले तीन अन्डर ६९ खेलेकी छन् । श्रीलंकाकै थुहासिनी सेल्भाथानाम आठ ओभर ८० स्कोरका साथ दोस्रो स्थानमा छिन् । ८३ खेलेकी नेपालकी कश्मिरा शाह ११ ओभर ८३ स्कोर सहित तेस्रो स्थानमा छिन् । बंगलादेशकी सोनिया अख्तर ८४ स्कोरका साथ चौथो स्थानमा छिन् ।

महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडी छ । श्रीलंककन महिला टिमा ग्रेस, थुवासिनी र टिनिया मिनाल (८५ स्कोर) छन् । नेपाल र बंगलादेश दोस्रो स्थानमा छन् । नेपाली महिला टिममा कश्मिरा शाह, रबिना श्रेष्ठ र सुष्मा कोइराला छन् ।

‘स्टोक प्ले’ विधामा सञ्चालित साग गल्फ ७२ होलको हुनेछ । सहभागी टोली र खेलाडीले दैनिक १८ होलमा प्रतिस्पर्धा गर्नेछन् । साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै काश्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *