सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने

डिसी नेपाल
१७ मंसिर २०७६ २२:३९

काठमाडौं । नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वाथ्य सेवा विभाग र परिवार कल्याण महाशाखाले सातवटै प्रदेशमा अभियान सञ्चालन गर्ने भएका हुन् ।

पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश १, २ र ५ मा अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेला खोप प्रदान गरिने र तराईका १९ वटै जिल्लामा पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको स्वाथ्य तथा खोप सेवा शाखाका जनसम्पर्क अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए।

अभियान सफल बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि प्रदेशस्तरमा सचेतनामूलक कार्यक्रम शुरु गरेको छ । प्रदेश ५ को बुटवलमा प्रदेशसभाका सदस्य र सञ्चारकर्मीलाई अभिमुखीकरण आयोजना गरी राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियानबारे जानकारी गराइएको छ ।

कार्यक्रममा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले खोपको महत्वको विषयमा जनतालाई जागरुक बनाउन आवश्यक रहेको बताए। उनले बाल मृत्युदर घटाउन अनिवार्य रुपमा खोप लगाउनुपर्ने विषयमा नागरिकलाई सुसूचित गर्नुपर्ने धारणा राख्नुभयो । मन्त्री बरालले स्वास्थ्य व्यक्तिको जीवनसँग जोडिएको विषय भएकाले यसमा सबै संवेदनशील हुुुनुपर्ने बताउँदै आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश नं ५ सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डेले बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन खोप कार्यक्रम महत्वपूर्ण हुने बताए । बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा झलक गौतमले खोप अभावमा बालबालिकामा अन्धोपना हुने, पखाला लाग्ने, कान पाक्ने निमोनिया हुने जस्ता समस्या देखिने भएकाले समय समयमा खोप प्रदान गर्न आवश्यक रहेको बताए । बाल स्वास्थ्य तथा खोप शाखा अधिकृत भरत भण्डारीले गर्भावस्थामा दादुरा भए ८७ प्रतिशत बालबालिका विकलाङ्ग हुने खतरा रहेको बताउँदै बालबालिकालाई दादुरा र रुबेला खोप अनिवार्य लगाउन आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *