कतार-साउदी अरेबिया: अमिरलाई राजाले गरे निम्तो

डिसी नेपाल
१८ मंसिर २०७६ ६:५८

बीबीसी । कतारका सरकारी सञ्चार माध्यमहरूले देशका अमिरलाई साउदी अरेबियाका राजा सलमानले आगामी हप्ता रियादमा आयोजना हुन लागेको एक क्षेत्रीय सम्मेलनमा भाग लिन निम्तो दिएको उल्लेख गरेका छन्।

तर ती समाचार संस्थाले कतारी अमिर शेख तामीम बिन हमाद अल-थानीले निम्तो स्वीकारिसकेका छन् या छैनन् भनेर पुष्टी गरेका छैनन्।

यदि त्यसो भयो भने दुई देशबीच लामो समयदेखि विद्यमान कूटनीतिक विवाद अब समाधानतर्फ जान लागेको एउटा बलियो सङ्केत मिल्नेछ।

फुटबल कूटनीति

साउदी अरेबियाको नेतृत्वमा ४ छिमेकी देशहरूले सन् २०१७ देखि कतारमाथि आर्थिक नाकाबन्दी लगाएका थिए। उनीहरूले कतारले जिहादीहरूलाई समर्थन गरेको तथा इरानसँग निकटता बढाएको आरोप लगाएका छन्।

कतारविरुद्धको नाकाबन्दीमा उत्रिएका संयुक्त अरब इमिरेट्स, बहरेन तथा साउदी अरेबियाले हाल कतारमा भइरहेको खाडीको फुटबल प्रतियोगितामा पनि भाग लिइरहेका छन्। त्यसले पनि कतारविरुद्ध छिमेकीहरूको व्यवहार विस्तारै खुकुलो हुन लागेको सङ्केत गरेको ठानिएको छ।

खासमा सन् २०१७ को जुन महिनामा साउदी अरेबिया, बहरेन, इजिप्ट तथा संयुक्त अरब इमिरेट्सले कतारमाथि आतङ्कवादलाई समर्थन गरेको भन्दै आर्थिक नाकाबन्दी लगाएका थिए। लगत्तै ती देशले १३ वटा माग प्रस्तुत गरेका थिए – जसमा इरानसँग कतारले आर्थिक सहयोग अन्त्य गर्नु पर्ने, तथा अल-जजिरा टेलिभिजन स्टेशन बन्द गर्नु पर्ने जस्ता माग पनि छन्।

नाकाबन्दीको सामना

कतारले नमानेपछि आर्थिक नाकाबन्दी निरन्तर रह्यो। कतार आफ्ना २७ लाख जनसङ्ख्याको आधारभूत आवश्यकता पूरा गराउनका निम्ति स्थलमार्ग एवं जलमार्गबाट गरिने आयातहरूमा निर्भर थियो। त्यसमध्ये पनि साउदी अरेबियासँगको सिमानाबाट उसको ४० प्रतिशत खाद्यान्नको आयात हुने गर्थ्यो।

नाकाबन्दीका सुरुवाती समयमा दोहामा उपभोग्य सामग्रीको केही समस्या देखा परेको थियो र मानिसहरूले सामान जम्मा गर्न थालेका थिए।

तर पछि टर्की र इरानले हवाई एवं जलमार्गबाट आपूर्ति गरिदिएपछि स्थिति सुधारिएको थियो। विगतको अढाई वर्षमा भने कतारले नाकाबन्दीले उसलाई खासै असर पार्न दिएको देखिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *