गणेशमान सिंह स्मृति बक्सिङ माघमा

डिसी नेपाल
१७ पुष २०७६ २१:३६

काठमाडौं । वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता आगामी माघ पहिलो साता हुने भएको छ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

माघ २ गतेदेखि शुरु हुने सो प्रतियोगितमा १२ टोलीका करिब २०० खेलाडी सहभागी हुने आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले बिहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, मुवाँथाई, किक बक्सिङको टोली तथा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीको सहभागिता रहने उहाँले बताउनुभयो । पुरुषतर्फ छ तथा र महिलातर्फ पाँच विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने छ ।

प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरिने अध्यक्ष महर्जनले बताए । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीलाई रु एक लाख तथा दोस्रोलाई रु ५० हजार पुरस्कार प्रदान गरिनेछ । आयोजक सङ्घका संरक्षक एवं राष्ट्रिय खेलकूद परिषद्का पूर्वकोषाध्यक्ष मिनकृष्ण महर्जनका अनुसार तीन दिनसम्म चल्ने सो प्रतियोगिताका खेलहरु ललितपुरको चापागाउँस्थित प्याङगाउँचौरमा खेलाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *