महिला गोल्डकपको उपाधि आर्मीलाई, एपीएफ पराजित

डिसी नेपाल
१८ पुष २०७६ २०:२६

काठमाडौं । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले वाई वाई सहिद रिदामाहाङ्ग रामलिहाङ्ग आठपहरिया महिला गोल्डकप फुटबलको उपाधि जितेको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको फाइनलमा एपीएफलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टीमा राष्ट्रिय टिममा सदस्य समेत रहेका एपीएफकी सावित्रा भण्डारी, अनिता बस्नेत र गिता राना गोल गर्न चुकिन । उनीहरुको प्रहार बाहिरिएको थियो । एपीएफका लागि मन्जु दोङले मात्र गोल गरिन् ।

यता, आर्मीका लागि यू–१९ राष्ट्रिय टिमकी स्ट्राइकर रश्मी कुमारी घिसिङ, डिफेन्डर पुजा राना र निशा बोहोराले गोल गरिन् । उपाधिसँगै आर्मीले २ लाख प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले १ लाखमा चित्त बुझायो ।

प्रतियोगितामा आर्मीले एपीएफसँगको बदला समेत लिएको छ । गत महिना काठमाडौंमा भएको ७ औं प्रधानसेनापति अन्तराष्ट्रिय महिला कपको फाइनलमा आर्मी एपीएफसँग पराजित भएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी सावित्रा भण्डारी घोषित भईन् । उनले १० हजार प्राप्त गरिन् । प्रतियोगितामा ७ गोल गर्दै सर्बाधिक गोलकर्ताको अवार्ड पाएकी आर्मीकी शर्मिला थापा मगरले ७ हजार पाईन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा आर्मीकी अन्जना राना मगर, डिफेन्डरमा एपीएफकी गिता राना, मिडफिल्डरमा एपीएफकै रेनुका नगरकोटी र स्ट्राइकरमा आर्मीका रश्मी कुमारी घिसिङ र प्रशिक्षकमा आर्मीकै चक्र तामाङ चुनिए । उनीहरुले जनही नगद ५र५ हजार प्राप्त गरे ।

यस्तै प्रतियोगिताको राईजिङ प्लेयरमा आयोजककी सुस्मिता राई चुनिईन् । उनले ५ हजार प्राप्त गरिन् ।

प्रतियोगितामा तीन विभागीय टिमसहित मोरङ ११, एभरेष्ट फुटबल क्लब, बासहा राईजिन युथ क्लब सुनसरी, रौतहत महिला फुटबल टिम र आयोजक टिमको सहभागीता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *